काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसेको छ । उक्त बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको हो ।
पार्टीको क्रियाशील सदस्यतादेखि भ्रातृ संस्थाको अधिवेशन हुँदै राजावादीको प्रदर्शनलगायतका विषयमा बैठकमा छलफल भएको एक पदाधिकारीले बताएका छन् ।
आज (सोमबार) बसेको बैठकमा सभापति देउवाले राजावादीको पछिल्लो आन्दोलनबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा देउवाले राजावादीको पछिल्लो प्रदर्शन गम्भीर हुने खालको भएको बताएका छन् । ‘राजावादीहरू सतर्कता अपनाउँदै गम्भीर र सुनियोजित ढंगले लागेका छन्,’ देउवाको भनाइ उदृत गर्दै ती पदाधिकारीले भने, ’हामीले पनि यस विषयमा गम्भीर हुनुप¥यो ।’
बैठकले गणतन्त्रको पक्षमा काठमाडौँमा आमसभा गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।
‘संविधानको पक्षमा पक्षमा सभा गर्ने भन्ने भएको छ । मिति र स्थान चाहिँ आगामी बैठकले तय गर्नेछ,’ उनले भने ।
जेठ १५ गते गणतन्त्र दिवसकै दिन नेकपा (एमाले)ले उत्सव भन्दै काठमाडौँमा झाँकीसहितको ¥याली निकालेको थियो । सोही दिनदेखि राजावादीहरूले गणतन्त्रको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
सत्ता नेतृत्वकर्ता एमालेले गणतन्त्रको पक्षमा विभिन्न कार्यक्रम गरेसँगै सत्ता साझेदार कांग्रेसले पनि संविधान र गणतन्त्रको पक्षमा सभा गर्न लागेको हो ।
गत चैत १५ गते भृकुटीमण्डपमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित नेकपा, नेसपा लगायतको संयुक्त समाजवादी मोर्चाले प्रदर्शन गरेका थियाे ।























