रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न शनिबार आदेश दिएका छन् ।
सुमीको प्रशासनले भनेको छ, “सीमावर्ती समुदायमा बमबारीका कारण नागरिकको जीवनमाथि निरन्तर खतरालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो ।”
रुसको रक्षा मन्त्रालयले युक्रेनी भाषामा भोडोलाही भनिने अर्को सुमी गाउँ भोडोलागीलाई पनि आफ्नो सेनाले नियन्त्रणमा लिएको जनाएको छ ।
हालैका हप्ताहरूमा रुसले उत्तरपूर्वी क्षेत्रका धेरै गाउँहरू कब्जामा लिएको दाबी गरेको छ र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ता मस्कोले सम्भावित आक्रमणको सङ्केतस्वरूप नजिकै ५० हजारभन्दा बढी सैनिकहरू जम्मा गरिरहेको बताएका थिए ।
युक्रेनको सीमा सुरक्षा सेवाका प्रवक्ता एन्ड्री डेमचेन्कोले बिहीबार रुसले सुमीमाथि ‘आक्रमण’ गर्न तयार रहेको बताए ।
गत वर्ष कुस्र्क क्षेत्रमा रुसी सीमामा प्रवेश गरेका युक्रेनी सैनिकसँग मस्कोको सेनाले लडेपछि रुसी सेनाको सङ्ख्या बढ्न थालेको उनले बताए ।
रुसले हालै कुस्र्कको लगभग सम्पूर्ण भूभाग आफ्नो नियन्त्रणमा लिएको छ ।


विश्व खबर 




















