नयाँ दिल्ली – सन् २०२५ को जनवरीयता अमेरिकाले एक हजारभन्दा बढी भारतीय नागरिकलाई स्वदेश फिर्ता पठाइसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार डिपोर्ट गरिएकामध्ये करिब ६२ प्रतिशत व्यवसायिक उडानमार्फत भारत फर्काइएका थिए। यद्यपि, उनीहरूको विस्तृत व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन।
अमेरिकाले पछिल्लो समय कागजपत्रविहीन आप्रवासीहरूलाई लक्षित गर्दै डिपोर्टको नीति कडाइका साथ कार्यान्वयन गरिरहेको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि आप्रवासनसम्बन्धी नीति अझै कठोर बनाइएको छ।
जयसवालले आप्रवासी मामिलामा भारत र अमेरिका बीच निरन्तर समन्वय र सहकार्य रहेको बताए। उनका अनुसार, डिपोर्ट गरिनुअघि भारतले सम्बन्धित व्यक्तिहरूको नागरिकता प्रमाणित गर्छ।
अमेरिकी अधिकारीहरूका अनुसार हालसम्म अमेरिका भित्र गैरकानूनी रूपमा बस्दै आएका करिब १८ हजार भारतीय नागरिक पहिचान गरिएका छन्।
यसै सन्दर्भमा, भारतस्थित अमेरिकी दूतावासले हालै चेतावनी दिँदै भिसा अवधि सकिएपछि पनि अमेरिका बस्ने वा अवैध तरिकाले प्रवेश गर्नेहरूलाई डिपोर्ट गर्ने मात्र होइन, भविष्यमा अमेरिका प्रवेशमा स्थायी प्रतिबन्धसमेत लगाइन सक्ने जानकारी दिएको छ।























