अर्बपति व्यापारी तथा टेस्लाका मालिक एलन मस्क १३० दिनपछि ट्रम्प प्रशासनबाट बाहिरिएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले सरकारको कर्मचारीका रूपमा आफ्नो समय सकिएको उल्लेख गर्दै डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सीमा जिम्मेवारी दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।
गत वर्ष भएको निर्वाचनमा ट्रम्पलाई जिताउन सबैभन्दा बढी भूमिका खेलेका मस्कलाई ट्रम्पले आफ्नो कार्यकाल सुरु भएपछि डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सीको जिम्मा दिएका थिए, जसको उद्देश्य सरकारको फजुल खर्च कम गर्नु थियो ।
ट्रम्पले ३० मे २०२५ सम्मका लागि मस्कलाई यो विभागमा नियुक्त गरेको बताइएको छ । सोही कारण मस्कले राजीनामा दिँदा उनको कार्यकाल एक दिन मात्रै बाँकी थियो । मस्कले गत वर्ष भएको निर्वाचनमा ट्रम्पलाई जिताउन २७७ मिलियन डलर खर्च गरेका थिए ।
मस्कको राजीनामाको खास कारण बाहिर ल्याइएको छैन । तर, उनले ट्रम्पले बिग ब्युटिफुल बनेको विधेयकको मस्कले विरोध गर्दै आएका थिए, जसअन्तर्गत सन् २०१७ मा गरेको कर कटौतीलाई स्थायी बनाउनु थियो ।
ट्रम्प सरकारबाट अलग हुनुभन्दा एक दिनअघि सीबीएसलाई दिएको अन्तर्वार्तामा उनले आफूले राजनीतिमा जति गर्नु थियो गरेको भन्दै अब चन्दा नदिने बताएका थिए । वासिङ्टन पोस्टलाई दिएको अन्तर्वार्तामा उनले संघीय कर्मचारीतन्त्र सोचेको भन्दा केही बढी खराब रहेको टिप्पणी गरेका छन् ।
यी दुई भनाइले मस्क अब राजनीतिभन्दा टाढा हुन लागेको संकेत मिल्छ । केही मिडिया रिपोर्टअनुसार अब सरकारी भूमिकाबाट हटेर उनी फेरि टेस्ला र स्पेस एक्सजस्ता आफ्ना कम्पनीमा ध्यान दिने योजनामा छन् ।
ट्रम्प प्रशासनमा रहँदा मस्कले ५६ हजार सरकारी कर्मचारी हटाएका थिए भने ७५ हजार कर्मचारीले स्वेच्छिक अवकाश रोजेको बताइएको छ ।
मस्कको कारबाहीका विरुद्ध अप्रिलमा लाखौँ मानिसले प्रदर्शन गरेका थिए भने युरोपदेखि अमेरिकासम्म टेस्लाका कार जलाएका थिए । तर, पछिल्लो समयमा कर कटौतीसम्बन्धी विधेयकमाथिको असन्तुष्टिसँगै ट्रम्प प्रशासनबाट राजीनामा दिएका हुन् ।
ओपन एआईले २२ मेमा यूएईमा ठूलो एआई डाटा सेन्सर बनाउने टेन्डर जितेको थियो । मस्कको कम्पनी एक्स एआई पनि यो टेन्डरमा प्रतिस्पर्धामा थियो । तर, उनको कम्पनीले पाएन ।
आफ्नो कम्पनीले टेन्डर नपाए पनि मस्कले ट्रम्पका सल्लाहकार डेभिड सैक्स र बाँकी अधिकारीहरूको निष्पक्षतामा प्रश्न उठाएका थिए ।
मस्कले सन् २०२४ मा अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पका लागि २७७ मिलियन डलर खर्च गरेका थिए भने सन् २०२६ सम्म मिडटर्म निर्वाचनअघि १ सय मिलियन डलर दिने वाचा गरेका थिए ।
तर, अहिलेसम्म यो रकम नदिएपछि ट्रम्पको टिम पनि मस्कसँग खुसी थिएन । योसँगै मस्कलाई पेन्टागनका गोप्य जानकारी दिएको विषयले पनि असन्तुष्टि चुलिएको थियो ।


विश्व खबर 


















