
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज (बिहीबार) खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा सम्पन्न भएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्मा उत्पन्न गतिरोध, पार्टीको आन्तरिक कार्यदिशा र सरकारको कार्यसम्पादनबारे छलफल भएको माओवादी नेताहरूले बताएका छन् ।
बैठकमा विशेषगरी संसद्मा भिजिट भिसा प्रकरणका कारण देखिएको अवरोध, त्यसको व्यवस्थापनमा पार्टीको भूमिका के हुने भन्नेबारे अध्यक्ष प्रचण्डले पदाधिकारीहरूसँग राय संकलन गरेका थिए । गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्न भएकोबारे पार्टीभित्र थप छलफल आवश्यक देखिएको बताइएको छ ।
बैठकमा पार्टी संगठन सुदृढीकरण, आगामी महाधिवेशनको तयारी, स्थानीयस्तरका रिपोर्टिङ र जनसंगठनहरूको सक्रियता वृद्धिबारे पनि केही निर्णयहरू लिइएको जनाइएको छ ।
बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एक नेताले भने, ‘संसद् चलाउनु सबैको साझा जिम्मेवारी हो । तर, गृहमन्त्री नै भिजिट भिसा प्रकरणमा संलग्न भएपछि संसद्को गतिरोध कायमै रहनेछ । उनले मार्ग प्रशस्त गरेर अनुसन्धानलाई सघाउनुपर्छ ।
माओवादी केन्द्रले निकट भविष्यमा स्थायी समिति बैठक पनि बोलाउने तयारी गरिरहेको छ । जसमा विस्तृत रणनीतिक निर्णयहरू गरिने बताइएको छ ।
यसका साथै अन्य विपक्षी दलहरूले पनि गृहमन्त्रीकाे राजीनामा नअाएसम्म संसद् चल्न निदने अडान राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्