काठमाडौं – राजधानीको शान्तिबाटिका क्षेत्रमा आज अपराह्न अनौठो दृश्य देखिएको छ । एक तर्फ नेकपा एमालेको गणतन्त्र उत्सव र्याली, अर्कोतर्फ राजसंस्था समर्थकहरूको विरोध प्रदर्शन, र यी दुई समूहबीच बाक्लो संख्यामा खटिएका सुरक्षाकर्मी।
नेकपा एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने कार्यक्रमअन्तर्गत काठमाडौंका विभिन्न स्थानबाट र्याली निकालेर शान्तिबाटिकातर्फ अघि बढ्दा, त्यहीँ विरोध प्रदर्शनका लागि भेला भएका राजावादी समर्थकहरूलाई प्रहरीले जमलतर्फ सारिदिएको छ।
सम्भावित झडप टार्न प्रहरीले दुबै समूहलाई प्रत्यक्ष जम्काभेट हुन नदिने व्यवस्था मिलाएको हो। वारि राजावादीहरुले प्रदर्शनको तयारी गर्दै थिए र पारि एमालेको जुलुस आईपुगे पछि बीचमा भने प्रहरी तैनाथ देखिएका छन् ।
यसअघि नै प्रहरी प्रशासनले २ बजेपछि मात्रै राजावादी समूहलाई शान्तिबाटिकामा प्रवेश दिने स्पष्ट पारेको थियो।
एमालेको उत्सव र्याली भने भृकुटीमण्डप हुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुँदैछ।
राजनीतिक ध्रुवीकरण तीव्र हुँदै गएको सन्दर्भमा आजको दृश्यले सत्तारूढ पार्टी र राजसंस्था पक्षधर शक्तिबीचको वैचारिक दूरीलाई राजधानीको सडकमा भौतिक रूपमा पनि देखाइदिएको छ।























