काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा आज हुने राजसंस्थापक्षी आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ।
महाअभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बूले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोलनमा आफूहरूको कुनै सहकार्य नरहेको स्पष्ट पारेका छन्। ‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको जनआन्दोलन भएको हुँदा हाम्रो सहकार्य नरहेकोले सहभागी नहुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
आन्दोलनको क्रममा कुनै अवाञ्छित घटना भएमा आफूहरूको अभियान त्यसको जिम्मेवार नहुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
राप्रपासहित अन्य राजावादी दल र समूहले गणतन्त्र खारेजी र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै बिहीबार काठमाडौंमा विरोध प्रदर्शनको आयोजना गरेका छन्। दुर्गा प्रसाईंको समूहको अनुपस्थितिले राजावादी शक्तिभित्रको समन्वयमा प्रश्न उठाएको छ।























