images
images
  • राजसंस्थाका पक्षमा राप्रपा सांसद सडकमा, संसदमा दुई जना मात्रै उपस्थित हुने

    काठमाडौं – संघीय संसद्मा आज बजेट प्रस्तुत हुँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अधिकांश सांसद संसद्‌को बैठकमा अनुपस्थित रहने भएका छन्। पार्टीले प्रतिनिधिसभाका १४ सांसदमध्ये दुई सांसद मात्र संसद्मा पठाउँदै बाँकीलाई सडक आन्दोलनमा सहभागी गराउने निर्णय गरेको हो।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार ध्रुवबहादुर प्रधान र रोशन कार्की मात्र संसद्को संयुक्त बैठकमा सहभागी हुनेछन्। ‘अन्य सांसदहरू राजसंस्थाको पुनर्स्थापनाको मागसहितको विरोध प्रदर्शनमा सहभागी हुनुहुन्छ,’ श्रेष्ठले बताए।

    राप्रपा, राप्रपा नेपालसहितका विभिन्न राजावादी दल र संगठनहरूद्वारा आज दिउँसो २ बजेपछि रत्नपार्कस्थित शान्तिवाटिकामा विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको छ। सोही प्रदर्शनलाई सशक्त बनाउन सांसदहरूलाई सडकमा उतारिएको हो।

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मैतिदेवीबाट सुरु हुने विरोध र्यालीको नेतृत्व गर्नेछन्। विरोर्ध याली शान्तिवाटिका पुगेर प्रदर्शनमा परिणत हुने कार्यक्रम छ।

    सरकारले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यका बीच राजसंस्थाको बहस पुनः संसद् बाहिर सडकमा प्रतिध्वनित हुने संकेत देखिएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images