काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर उत्पन्न विवादका कारण आजको प्रतिनिधिसभा (तल्लो सदन) बैठक अझै सुरु हुन सकेको छैन ।
गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलले गरेको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगन गरिएको थियो ।
तर, निर्धारित समय बितिसक्दा पनि बैठक फेरि सञ्चालनमा आउन सकेको छैन ।
आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक समयमै सुरु हुन नसकी दिउँसो १ बजेमात्रै सुरु भएको थियो ।
बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले नाराबाजी र होहल्ला गरेका थिए । अवरोध कायमै रहेपछि सभामुखले बैठकलाई स्थगन गरेका थिए ।
प्रतिपक्षी दलहरूको कडा विरोधका कारण प्रतिनिधिसभाको वातावरण अवरुद्धजस्तै बनेको छ ।
राष्ट्रिय सभा (माथिल्लो सदन) बैठक भने बिनाअवरोध शान्तिपूर्वक सञ्चालनमा रहेको छ । बैठकको आकस्मिक समयमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर अछामीले भिजिट भिसा प्रकरणबारे गम्भीर टिप्पणी गर्दै गृहमन्त्री लेखकले नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा दिनुपर्ने माग राखे ।
सांसद अछामीको अभिव्यक्तिपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उठाइएको विषय गम्भीर रहेको भन्दै सम्बन्धित निकायलाई समयमै ध्यान दिन आग्रह गरे ।
प्रतिनिधिसभाको गतिरोध कहिले हट्ने भन्नेबारे अझै अनिश्चितता कायमै छ भने भिजिट भिसा प्रकरणको अनुसन्धान र राजनीतिक समाधानको दिशामा सरकारका आगामी कदमप्रति सबैको चासो बढेको छ ।























