images
images
  • प्रदेशसभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमत संसदीय दलको माग, सभामुखलाई पत्र पठायो

    बुटवल – लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङलाई पदमुक्त गर्न जनमत पार्टी संसदीय दलले माग गरेको छ ।

    संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाएर लगातार १० बैठकमा अनुपस्थित भएकाले गुरुङलाई पदमुक्त गर्न माग गरेको हो ।

    गुरुङ पछिल्लो समय साढे २ महिनादेखि प्रदेश सभालाई जानकारी नदिई छोराछोरीसँगै बेलायतमा बस्दै आएकी छन् । उनले वैशाख ३० गते हस्तलिखित राजीनामा पत्र संचारमाध्यमहरू मार्फत सार्वजनिक गरेकी थिइन् ।

    प्रदेश सभाको छैटौँ अधिवेशनका ११ बैठकमै अनुपस्थित भएपछि प्रदेश सभाले आवश्यक प्रकृया पूरा गरी पद रिक्त भएको जानकारी गराउन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेश सभालाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा’ प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ ।

    त्यसकै आधारमा प्रदेश सभा नियमावली २०७९ को नियम १९० को उपनियम १ अनुासर ‘सभाको कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले सो कुराको जानकारी सभालाई दिने’ उल्लेख छ । प्रदेश सभा नियमावली अनुसार बुधवारको प्रदेश सभा बैठकमा गुरुङको स्थान रिक्त भएको जानकारी दिन लागिएको हो । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन् ।

    लुम्बिनी प्रदेश सभामा गुरुङ सबै भन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्य हुन् । पाचौं अधिवेशनसम्मका ८३ वटा बैठक मध्ये गुरुङ ३४ वटा बैठकमा मात्र उपस्थित भएकी थिइन् । छैठौं अधिवेशनका १० बैठकमा उनी निरन्तर अनुपस्थित रहेको प्रदेश सभाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images