काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्तारूढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लामो समय छलफल भएको हो ।

छलफलमा आज बस्ने संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले बोल्ने भएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि उनीमाथि नैतिक प्रश्न खडा भएको छ भने विपक्षीले उक्त विषयलाई लिएर हिजो (मंगलबार) बसेको बैठक अवरुद्ध पारेका थिए ।
सोही विषमा प्रधानमन्त्री, देउवा र गृहमन्त्रीबीच लामो समय सघन छलफल भएको छ । छलफल पश्चात् गृहमन्त्रीले संसद्मा बोल्ने भएका छन् ।
विपक्षीले संसद्को गतिरोध कायमै राख्ने नीति लिएपछि बालुवाटारमा छलफल भएको थियो ।
छलफलमा प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।
सचेतक बर्तौलाका अनुसार बालुवाटार छलफलमा संसद्को गतिरोध अन्त्यका लागि छलफल भएको छ ।
तीनवर्ष पहिले अर्थात् २०७९ असार २२ गते अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनधिकृत कर्मचारीलाई प्रवेश दिएको भन्दै चौतर्फी आलोचना भएपछि संसद् बैठकको सम्बोधनलगत्तै पदबाट राजीनामा दिएका थिए ।
त्यतिबेला उच्च नैतिकता देखाएको भन्दै पछि प्रशंसासमेत भएको थियो । यसपटक भने गृहमन्त्री भिजिट भिसा प्रकरणमा प्ररोक्ष संलग्न रहेको भन्ने समाचार प्रकाशन पश्चात् उनले आफू कुनै पनि प्रकरणमा नजोडिएको स्पष्ट पारेका छन् । तर, यसबारे चौतर्फी आलोचना र विरोध भएपछि विपक्षीले संसद् नै अवरुद्ध पारेको थियो ।
आज बिहान भएको छलफलमा भने गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्ने भएका छन् । यद्यपि उनको राजीनामाबारे हालसम्म कुनै आधिकारिक निर्णय भएको छैन ।























