काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।
मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर बुधबार बिहान ११ः०० बजेसम्मका लागि स्थगित गरिएको थियो ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनुपर्ने भन्दै विपक्षी दलले संसद्को गतिरोध गरेका थिए ।
मंगलबार बिहान बैठक सुरु भएलगत्तै प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्री लेखकको राजीनामा माग गरेका थिए ।
राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान लिएपछि पहिलो पटक ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो २ः३० बजे बस्ने भनिएको थियो ।
सो समय सीमाभित्र पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर बुधबार ११ः०० बजेसम्मका लागि स्थगित गरिएको थियो ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट पेस गर्नुअघि हिजो उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची थियो ।
विपक्षी संसद् अवरोध गरेपछि हिजो प्रस्तुत गर्न नसकिएको आर्थिक सर्वेक्षण बुधबार प्रस्तुत गरिने भएको छ ।























