काठमाडौं । एलन मस्कको मंगल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजनाको केन्द्रमा रहेको स्पेसएक्सको ‘स्टारशिप मेगारकेट’ आज फेरि परीक्षण उडानको तयारीमा छ ।
अघिल्ला दुई प्रयासमा यानमा आगो लागेर विस्फोट भएपछि यो परीक्षणमा थप चासो केन्द्रित भएको छ ।
टेक्सासको दक्षिणी भागमा रहेको स्पेसएक्सको स्टारबेस प्रक्षेपण केन्द्रबाट आज स्थानीय समय अनुसार बेलुका ६ः३० बजे प्रक्षेपण हुने समय तय गरिएको छ ।
एक सय २३ मिटर अग्लो स्टारशिप अहिलेसम्म बनाइएको सबैभन्दा ठूलो यान हो ।
नासाले पनि आफ्नो ‘आर्टेमिस–३’ मिशन अन्तर्गत अमेरिकीहरूलाई चन्द्रमामा फर्काउने यानको रूपमा स्टारशिपको एक संस्करण प्रयोग गर्ने तयारी गरेको छ ।
तर अघिल्ला दुई परीक्षणमा माथिल्लो भाग विस्फोट हुँदा टुक्राहरू क्यारेबियन टापुहरूमा खसेका थिए, जसले हवाई उडानमा बाधा पुर्याएको थियो । यसपटक परीक्षण सफल पार्न स्पेसएक्समाथि थप दबाब रहेको छ ।
कम्पनीले परीक्षणमार्फत तीव्र विकासको नीति अपनाएको बताउँदै आएको छ, जसले विगतमा पनि वाणिज्यिक अन्तरिक्ष उडानमा सफलताको आधार तयार पारेको थियो ।


विश्व खबर 


















