अरब सागरमा लाइबेरियाको कार्गो जहाज एमएससी ईएलएसए-३ डुबेको र त्यसबाट तेल चुहावट भएपछि केरला सरकारले अलर्ट जारी गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार तटीय क्षेत्रका लागि चेतावनी जारी गरिएको हो। मनसुनका कारण अहिलेसम्म भएको क्षतिको तत्काल मूल्यांकन गर्न गाह्रो भइरहेको छ।
लाइबेरियाली झण्डा भएको कार्गो जहाजमा जम्मा ६४३ कन्टेनर थिए, जसमध्ये ७३ वटा खाली थिए।यी कन्टेनरमध्ये १३ वटामा क्याल्सियम कार्बाइड रसायन थियो, जसबाट एसिटिलीन ग्यास निस्कन्छ।
साथै जहाजमा ८४.४४ मेट्रिक टन डिजेल र ३६७.१ मेट्रिक टन फर्नेस तेल पनि लोड थियो। सरकारले विशेष गरी माझीहरूलाई जहाज डुबेको ठाउँबाट २० समुद्री माइलको दायराभित्र माछा मार्ने काम नगर्न चेतावनी दिएको छ।
केरलाका मुख्यमन्त्री पिनारायी विजयनको अध्यक्षतामा बसेको आपत्कालीन उच्चस्तरीय बैठकपछि चेतावनी जारी गरिएको हो।
राज्य विपद् व्यवस्थापन प्राधिकरणले माझीहरूलाई समुन्द्रले बगाएको कन्टेनरको नजिक नजान आग्रह गरेको छ।
प्राधिकरणले भनेको छ, ‘कृपया यी कन्टेनरहरूलाई नछुनुहोस्, तिनीहरूको नजिक नजानुहोस् र तुरुन्तै ११२ नम्बरमा जानकारी दिनुहोस्। कम्तीमा २०० मिटरको दूरी कायम राख्नुहोस्; भीडभाडबाट बच्नुहोस्। यी चिज हटाइँदै गर्दा अधिकारीहरूको काममा बाधा नपुर्याउनुहोस्। आफ्नो दूरी कायम राख्नुहोस्।’


विश्व खबर 


















