images
images
  • प्रधानमन्त्रीको हबलदार शैलीको निर्देशनप्रति गगनको आपत्ति, भने– उत्तेजक अभिव्यक्ति नदोहोर्‍याउनुहोला

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । आज (सोमबार) पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै थापाले प्रधानमन्त्रीजस्तो संवैधानिक पदमा बसेको व्यक्तिबाट उत्तेजक निर्देशन आउनु कल्पनाभन्दा बाहिरको कुरा भएको बताए ।

    थापाको प्रतिक्रिया प्रधानमन्त्री ओलीले शनिबार ललितपुरको गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा दिएको अभिव्यक्तिपछि आएको हो । उक्त कार्यक्रममा ओलीले आगामी जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

    महामन्त्री थापाले भने, ‘हामीले कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भनिन्छ भने, प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले त्यस्तो निर्देशन दिनु त कल्पना पनि गर्न सकिँदैन । यस्तो शैलीले लोकतान्त्रिक संस्कृतिलाई धक्का दिन्छ ।’

    उनले प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई ‘हबलदार शैली’ को निर्देशनको संज्ञा दिँदै लोकतन्त्रको मूल मर्मविपरीत भएको बताए । ‘प्रधानमन्त्रीको काम त देशलाई संयमित र समन्वयपूर्ण ढंगले अघि बढाउनु हो, न कि उत्तेजना फैलाउने अभिव्यक्ति दिनु,’ थापाले टिप्पणी गरे ।

    जेठ १५ मा राजावादीहरूद्वारा प्रदर्शनको तयारी

    प्रधानमन्त्रीको अभिव्यक्ति त्यस दिनका लागि प्रस्तावित राजावादी शक्तिहरूको प्रदर्शन सन्दर्भमा आएको हो । राप्रपा, राप्रपा नेपाललगायतका राजावादी तथा पुनरुत्थानवादी संघसंस्थाहरूले जेठ १५ गते राजतन्त्र पुनःस्थापना, संघीयता खारेजी, र हिन्दूराष्ट्रको माग राख्दै देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन् ।

    यसै दिनलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कार्यकर्तालाई ‘काठमाडौं नियन्त्रणमा राख्ने’ निर्देशन दिँदा प्रदर्शनको दिन राजनीतिक भिडन्त हुने आशंका उत्पन्न भएको छ ।

    गगन थापाको चेतावनी : संविधानको संरक्षण हो जिम्मेवारी

    महामन्त्री थापाले सत्ता पक्षले प्रतिपक्षका विचारलाई दबाउने शैलीमा प्रस्तुत हुनु लोकतान्त्रिक समाजको लागि घातक भएको बताए । उनले सरकारलाई संयमित र जिम्मेवार भएर नागरिक स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे ।

    उनले स्पष्ट रूपमा भने, ‘राजनीतिक विचार फरक–फरक हुन सक्छ । तर, त्यसलाई नियन्त्रण गर्ने होइन । लोकतान्त्रिक ढंगले सम्बोधन गर्ने हो । हामीले लोकतन्त्र यसैका लागि ल्याएका हौं । ताकि हरेक आवाजले स्थान पाओस् ।’

    प्रधानमन्त्रीको यो अभिव्यक्तिले सत्ता–विपक्षबीचको सम्बन्ध थप कटुतामा लैजाने र संवैधानिक मर्यादा कमजोर बनाउने खतरा औंल्याउँदै थापाले भविष्यमा यस्ता अभिव्यक्तिहरू दोहोरिन नहुने चेतावनी समेत दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images