काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज (सोमबार) बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको उक्त प्रकरणमा गृहमन्त्री लेखकको गल्ती नभएको निष्कर्ष निकालेको हो ।
बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे सविस्तार जानकारी गराएको र त्यसमा आफ्नो कुनै पनि कमिकमजोरी र गल्ती नरहेको कुरा राखेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
बैठकले गृहमन्त्री लेखकको कुरालाई पूर्णरूपमा विश्वास गरेर उनको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता डा.महतले जानकारी गराए । साथै बैठकले भिजिट भिसा प्रकरणमा संलग्नमाथि निष्पक्ष छानबिन गरेर कारबाही हुनुपर्ने मागसमेत गरेको छ ।
उता विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्रीले मार्ग प्रशस्त गरेर अनुसन्धानलाई सघाउन माग गरेका छन् ।























