काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज (सोमबार) बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको छ ।
निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी सुरु भएको बैठकमा पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकमाथि उठेका आरोपमाथि गम्भीर छलफल हुने अपेक्षा गरिएको छ ।
भिजिट भिसा प्रकरणले राजनीतिक तातो वातावरण सिर्जना गरिरहँदा कांग्रेस नेतृत्वले आधिकारिक धारणा बनाउने तयारीस्वरूप बैठक बोलाएको हो । गृहमन्त्री लेखकमाथि सामाजिक सञ्जाल र केही मिडिया मार्फत आरोपहरू लाग्दै आएका छन् । जसमा उनले भिजिट भिसाका सन्दर्भमा अनियमितता गरेको आरोप छ ।
यसअघि हिजो (आइतबार) सत्तारूढ नेकपा (एमाले)का शीर्ष नेताहरू र कांग्रेस नेताहरूबीच भएको छलफलमा पनि सो विषय उठेको थियो । उक्त छलफलमा सामाजिक सञ्जालमा आधारित आरोपलाई मात्र पुष्टि मान्न नमिल्ने निष्कर्ष निकालिएको थियो ।
बैठकमा गृहमन्त्री लेखक स्वयं उपस्थित रहने र आफ्ना पक्षमा स्पष्टीकरण दिने अनुमान गरिएको छ । यद्यपि, कांग्रेसभित्रै केही नेताहरू लेखकमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् ।
पार्टीको प्रतिष्ठा र सरकारमा भाग लिएको जिम्मेवारीसँग जोडिएको विषय भएकाले कांग्रेस नेतृत्व यसमा स्पष्ट र एकरूप धारणा बनाउन दबाबमा परेको छ ।
बैठकमा भिजिट भिसा प्रकरणसँगै पार्टी संगठनात्मक विषय, समसामयिक राजनीतिक अवस्था र सरकार सञ्चालनका अन्य पक्षहरूबारे पनि छलफल हुने कांग्रेस स्रोतले जनाएको छ ।
गृहमन्त्रीमाथिको आरोपमाथि कांग्रेस के निष्कर्षमा पुग्छ र त्यसअनुसार कस्तो कदम चाल्छ भन्ने कुराले आगामी दिनमा सत्ता साझेदारी र पार्टीको आन्तरिक एकतालाई समेत असर पार्ने देखिन्छ ।























