काठमाडौं । राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादी समूहहरू सक्रिय बन्दै गएपछि सत्तासाझेदार दल नेकपा (एमाले)ले प्रतिवादको रणनीति तय गर्न जनसंगठनहरूलाई सक्रिय पारेको छ । एमाले जनसंगठन संयन्त्रको बैठक सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ ।
बैठकमा पार्टी महासचिव शंकर पोखरेलको उपस्थिति रहेको छ भने उपमहासचिव विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, लेखराज भट्ट, पद्मा अर्याल, गोकर्ण विष्टलगायतका नेताहरू सहभागी छन् । बैठकले जेठ १५ गते हुने गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना हुने एमालेको जनप्रदर्शनको तयारीबारे छलफल गरेको छ ।
एमाले सचिवालयको आइतबार बसेको बैठकले राजावादी आन्दोलनको प्रतिवाद गर्दै सात दशक लामो संघर्ष र बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको सम्मानस्वरूप जेठ १५ लाई विशेष उत्सवको रूपमा मनाउने निर्णय गरिसकेको छ । सोही निर्णयको कार्यान्वयनका लागि जनसंगठनहरूको सक्रिय भूमिका रहने बताइएको छ ।
२०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाबाट गणतन्त्र घोषणा भएको दिनलाई एमालेले ‘गणतन्त्र दिवस’का रूपमा देशभर मनाउने तयारी गरेको छ । उता, सोही दिन राजावादी पक्षले पनि आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’मार्फत राजावादीहरूले राजसंस्था पुनस्र्थापनाको माग राख्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरूले राजसंस्था पुनस्र्थापनासम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् । राप्रपा, राप्रपा नेपाल लगायतका शक्ति उक्त अभियानमा सहभागी छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै राजावादीहरूको आन्दोलन रोक्न निर्देशन दिइसकेका छन् । जनसंगठन संयन्त्रको सोमबारको बैठक सोही निर्देशनको कार्यान्वयनतर्फ लक्षित रहेको एमाले स्रोतले जनाएको छ ।
बैठकबाट जेठ १५ गतेको जनप्रदर्शनलाई प्रभावकारी बनाउने, देशभर गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने र राजसंस्था पुनस्र्थापनाको अभियानलाई निष्क्रिय तुल्याउने रणनीति तय गरिने बताइएको छ ।
बैठकले आन्दोलनको सशक्त प्रतिवाद गर्दै पार्टीको वैचारिक लाइन स्पष्ट रूपमा जनसमक्ष पु¥याउने, युवासंघ, महिला संघ, मजदुर संघ, विद्यार्थी संघ लगायतका जनसंगठनहरूलाई परिचालन गर्ने कार्ययोजना बनाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
जनप्रदर्शनमा एमाले अध्यक्ष ओली स्वयं सहभागी हुने र संविधानसभाबाट स्थापित राजनीतिक प्रणालीको रक्षाका लागि पार्टी पूर्णरूपमा प्रतिबद्ध रहेको सन्देश दिने तयारीमा रहेको छ ।
राजनीतिक रूपमा तातेको यो परिस्थितिमा जेठ १५ गतेका लागि राजावादी र गणतन्त्रवादी दुवै पक्षका गतिविधिहरूले देशको ध्यान तान्ने निश्चित देखिन्छ । अब हेर्न बाँकी छ— कुन पक्ष जनसमर्थनको लहरमा अग्रपंक्तिमा देखिन्छ























