images
images
  • रुसद्वारा युक्रेनमा निरन्तर मिसाइल आक्रमण : ट्रम्प क्रुद्ध, भने– पागल रहेछन् पुटिन

    वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेकोमा आक्रोश व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्णरूपमा पागल भइसकेको पनि उनले भने । रुसविरुद्ध थप प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको उनले बताएका छन् ।

    ‘पुटिनसँग मेरो सधैँ धेरै राम्रो सम्बन्ध रहँदै आएको छ, तर उनलाई केही भएको छ । उनी पूर्णरूपमा पागल भएका छन् ! उनी बिनाकारण धेरै मानिसहरूलाई मारिरहेका छन्, र म केवल सैनिकहरूबारे कुरा गरिरहेको छैन । युक्रेनी सहरहरूमा बिना कारण मिसाइल र ड्रोनहरू प्रहार गरिँदैछ ।’ पुटिनको बारेमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मञ्च ट्रथ सोसल अकाउन्टमा एउटा पोस्टमा लेखेका छन् ।

    ‘मैले सधैँ भनेको छु कि उनी युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण युक्रेन चाहन्छन्, र त्यो सत्य साबित हुन सक्छ, तर यदि उनले त्यसो गरे भने यसले रुसको पतन निम्त्याउनेछ,’ अझ अगाडि ट्रम्पले लेखेका छन् ।

    यस क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई पनि निशाना बनाए । उनले भने, ‘राष्ट्रपति जेलेन्स्कीले आफ्नो बोल्ने तरिकाले आफ्नो देशलाई कुनै राम्रो गरिरहेका छैनन् । उनको मुखबाट निस्कने सबै कुराले समस्या सिर्जना गर्छ, मलाई यो मन पर्दैन, र यो बन्द भए राम्रो हुन्थ्यो ।’

    यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको मौनताले पुटिनलाई प्रोत्साहन गरिरहेको बताएका थिए । आफ्नो पोस्टमा ट्रम्पले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि गाली गरेका छन् । ‘यो त्यस्तो युद्ध हो जुन म राष्ट्रपति भएको भए कहिल्यै सुरु हुने थिएन । यो जेलेन्स्की, पुटिन र बाइडेनको युद्ध हो, ट्रम्पको होइन । म त केवल एउटा ठूलो संकटको सामना गर्न मद्दत गर्दैछु जुन घोर अक्षमता र घृणाबाट सुरु भएको छ,’ पोष्टमा भनिएको छ । –एजेन्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images