images
images
  • गजामा इसराइलको हवाइ आक्रमण, कम्तिमा ३० जना मारिए

    इसराइली हवाइ आक्रमणमा गजामा कम्तिमा ३० जनाको मृत्यु भएको छ।

    आइतबार गजापट्टिको जबालिया क्षेत्रमा इसराइलले गरेको हवाई आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मारिनेमा एक जना पत्रकार र उद्धारमा खटिएका वरिष्ठ अधिकारी पनि छन्।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हसन मज्दी अबु वार्दाको मृत्यु भएको छ।

    नुसेरातमा भएको अर्को हवाई आक्रमणमा त्यस क्षेत्रको नागरिक आपतकालीन सेवाका एक वरिष्ठ अधिकारी अशरफ अबु नार र उनकी श्रीमतीको मृत्यु भएको रोयटर्सले जनाएको छ।

    सन् २०२३ को अक्टोबर ७ यता गजामा २२० जना पत्रकारहरू इसराइली हमलामा मारिएको तथ्यांक छ।

    इसराइली सेनाका चिफ अफ स्टाफ इयाल जामिरले आइतबार खान युनिसमा इसराइली सैनिकहरूलाई भेटेर गजाको युद्ध अनन्त नभएको बताएका थिए। उनले हमासका कमान्ड सेन्टर अधिकांश ध्वस्त पारिएको पनि बताएका थिए।

    ‘हामी बन्धकहरूलाई घर ल्याउन, हमासलाई ध्वस्त पार्न हामीसँग भएका सबै उपकरण प्रयोग गर्नेछौं,’ जामिरले भनेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images