images
images
  • कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृत्यु

    पश्चिमी कोलम्बियामा शनिबार विद्यार्थी र प्राध्यापकहरू सवार एक बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १० जनाको मृत्यु र ११ जना घाइते भएको विश्वविद्यालयले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानअनुसार टोलिमादेखि क्विन्डियोसम्म २६ जना यात्रु बोकेको बस चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो ।

    क्विन्डियो क्षेत्रको हेलिकोइल ब्रिजको छेउमा रहेको अवरोधमा ठोक्किँदा धेरै मानिस बसबाट खसेको प्रहरी कमान्डर लुइस फर्नान्डो अतुएस्टाले बताए ।

    ‘धेरै यात्रुहरू बाहिर निस्केर खाडलमा खसे,’ उनले भने, ‘यस दुर्भाग्यपूर्ण दुर्घटनाका परिस्थितिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।’

    कोलम्बियाको अर्मेनिया सहरमा रहेको हम्बोल्ट विश्वविद्यालयले एक वक्तव्यमा दुर्घटनामा ‘हाम्रा धेरै सहकर्मी, विद्यार्थी, प्राध्यापक र प्रशासकहरूको पीडादायी क्षति’ पछि दुई दिनको शोक घोषणा गरेको बताएको छ ।

    विश्वविद्यालयका निर्देशक डिएगो फर्नान्डो जारामिल्लो लोपेजले एक भिडियोमा बसमा ‘२२ विद्यार्थी, दुई शिक्षक र एक सञ्चार अधिकारी’ सवार रहेको जानकारी दिए ।

    राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार सन् २०२४ मा दैनिक औसत २२ ट्राफिक मृत्यु भएको कोलम्बियामा सडक दुर्घटनाहरू मृत्युका मुख्य कारणहरूमध्ये एक हुन् । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images