काठमाडौं । सियरा लियोनमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म दर्ता भएका एमपोक्सका बिरामीको संख्या तीन हजार ११ पुगेको छ भने १४ जनाको मृत्यु भएको नयाँ सरकारी तथ्यांकले देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले स्थानीय समयअनुसार शुक्रबार राति सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पश्चिम अफ्रिकी मुलुक सियरालियोनका सबै क्षेत्रमा अहिले संक्रमण पुष्टि भएको छ ।
नयाँ तथ्यांकले १० दिनअघि मे १३ मा दुई हजार ४५ जना सङ्क्रमित र ११ जनाको मृत्यु भएको अघिल्लो अद्यावधिकको तुलनामा संक्रमित दर करिब ५० प्रतिशतले वृद्धि भएको देखाउँछ ।
एमपोक्स बिफर जस्तै संक्रमित विरामीबाट सर्ने एक संक्रामक रोग हो । ज्वरो आउने, रूघा लाग्ने, छालामा घाउमा देखा पर्ने र लामो समयसम्म निको नहुने यसका सामान्य लक्षण हुन् ।
सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा पहिलोपटक पहिचान गरिएको यो रोग सन् २०२२ देखि व्यापक रूपमा फैलिनुअघि सामान्यतया एक दर्जन अफ्रिकी देशहरूमा मात्र सीमित थियो ।
डब्लुएचओले सन् २०२४ मा एमपक्स संक्रमणबाट जोगिन उच्च स्तरको चेतावनी जारी गरेको थियो ।
संक्रमण बढेसँगै राजधानी फ्रीटाउनमा रहेको प्रहरी प्रशिक्षण केन्द्रलाई ४०० शैयाको अस्पताल बनाई उपचार सेवा दिन थालिएको सियरा लियोनका अधिकारीहरूले बताएका छन् ।
एक दशकअघि सियरा लियोन इबोला महामारीबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक थियो ।
इबोलाका कारण यहाँ सन् २०१४ देखि २०१६ को बीचमा करिब चार हजार व्यक्तिको मृत्यु भएको थियो ।
अन्य अफ्रिकी राज्यहरूमा एमपक्सको संक्रमणहरू बढिरहेको देखिएको छ । विशेष गरी कंगो, रुवान्डा, तान्जानिया, बुरुन्डी र केन्यामा एमपक्सबाट हजारौँ व्यक्ति संक्रमित भएका छन् । –रासस


विश्व खबर 


















