काठमाडाैं-भिजिट भिसाको संगठित धन्दा चलाएको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन कांग्रेसभित्रैबाट चर्काे दबाब बढेको छ। नेपाली कांग्रेस नेता डा.शखेर कोइरालाले समेत उनलाई राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।
शनिबार विराटनगरमा पत्रकारहरुसँग बोल्दै उनले नैतिकताका हिसाबले राजीनामा गर्नुपर्ने बताएका हुन् । उनले भने,‘उहाँले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरें, छानविन समिति बनाउनुस्, भने भइहाल्यो, सक्यो, त्यसले मोरल स्ट्याटस देखाउँछ ।’
विमानस्थलबाट हुने भिजिट भिसाको मानवतस्करी मन्त्रालयकै मिलेमतोमा चलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनले देखाएको छ। गिरोहमा उनको सचिवालयका कर्मचारीको प्रत्यक्ष संलग्नता देखिएको स्रोत बताउँछ । पछिल्लो समय अध्यागमनमा दैनिक ५० लाखसम्म लेनदेन हुने गरेको सूचनाका आधारमा अख्तियारले मंगलबार छापा हानेको थियो। आयोगले सहसचिव तिर्थराज भट्टराई र उनका सहयोगीहरुको मोबाइल जफत गरेर अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमै गृह मन्त्रालयको मिलेमतो देखिएको स्रोत बताउँछ । संस्थागत र संगठित रुपमा भिजिट भिसामा असुली धन्दा चलेको थियो।
यस प्रकरणमा अन्य दलका नेताहरुले पनि मन्त्री लेखकलाई बर्खास्त गर्न माग गरेका छन्।यता मन्त्रीकै पद धरापमा परेपछि गृह मन्त्रालयले आज सो विषयमा प्रेस बिज्ञप्ति निकाल्ने तयारी गरेको छ। पदमै बस्दा उनले अनुसन्धान प्रभावित पार्न सक्ने भन्र्दै हटाउन माग गर्दै सर्वोच्च अदालतमा समेत रिट निवेदन पेश भएको छ भने प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ ।
‘हाइप्रोफाइल केस’ बन्दै भिजिट भिसा प्रकरण
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेतको नाम जोडिएसँगै यो विषयमा हाइप्रोफाइहरुसंग जोडेर हेर्न थालिएको छ । भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै रहेको केही तथ्य पनि बाहिरिएको छ । जसकारण पनि यसलाई अहिले हाइप्रोफाइल केसको रुपमा हेरिएको छ । भिजिट भिसा प्रकरणमा जाडिएका व्यक्ति नै गृहमन्त्रीको सचिवालयमा हुनु, अख्तियारले छापा मार्ने सुइँको पाएपछि हतार हतार अध्यागमन विभाग प्रमुखको सरुवा गर्नु जस्ता विषयले पनि यो प्रकरणको जरा माथिसम्मै फैलिएको हुनुसक्ने अनुमान लगाउन सुरु गरिएको छ ।
भिजिट भिसामा सेटिङ गरी मानव तस्करसँग साँठगाँठ गरेर ठुलो मात्रामा रकम लेनदेन हुनेगरको सूचना पाएपछि गत बुधबार अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको थियो । अख्तियारको टोलीले अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।
यो प्रकरण बाहिर आएपछि विमानस्थल अध्यागमन कार्यालयबाट गहृमन्त्रालयले १५ जना कर्मचारीको सरुवा गरिसकेको छ । जसमा उपसचिव तीर्थराज भट्टराईसहित १५ जना अन्य कर्मचारीहरु छन् । भट्टराईलाई गत बुधबार नै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो भने सोहीदिन अन्य ६ स्थानमा अख्तियारले छापा मारेको थियो ।
यो प्रकरण बाहिरिएसँगै गृहमन्त्री रमेश लेखकलाई बर्खास्तीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ भने सर्वाेच्च अदालतमा रिटसमेत परेको छ । अधिवक्ता युवराज सफलले गृहमन्त्री लेखकविरुद्ध प्रधानमन्त्री कार्यालयमासमेत उजुरी दिएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यस विषयमा आफू पहिले नै जानकार रहेको बताएका छन् । प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रतिदिन करोडौंको घोटाला हुने गरेको आफूलाई जनकारी भएको एक सार्वजनिक कार्यक्रममा बताएको हुन् । ‘एयरपोर्ट भन्सारमा प्रतिदिन लाखौँ र करोडौँको घोटाला हुने गरेको छ,’ प्रचण्डले भने ।
रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।शनिबार भर्चुअल रुपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी गराएका छन् ।
‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
शनिबार भर्चुअल रुपमा बसेको पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी गराएका छन् ।
‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।























