गुल्मी : सत्यवती- ४, एक्सिङकी राधिका गैरे गाहाको मोबाइलमा महिना मर्नेबित्तिकै दुधको भुक्तानी घण्टी बज्छ । गैरे दैनिक बिहान–साँझ गरेर २४ लिटर दुध बेच्छिन्। मासिक ४५-५० हजार रुपियाँ कमाउँछिन्।
स्याङएक्सिङ कृषि तथा पशुपालन महिला समूहकी सदस्यसमेत रहेकी उनको एउटा भैँसी र गाई छ। अर्को गाई थप्ने योजना छ । बिहे भएर घर आउँदा जीविकोपार्जनको उपाय थिएन । घरेलु मदिरा पारेरै कैयौँ वर्ष बिताएकी गैरेको जीवन फेरिन भने धेरै समय लागेन ।
स्थानीय सरकार बनेपछि गाउँपालिकाले कृषि र पशुपालनको योजना बनायो। महिला एकीकृत बने । सिप र अनुदान पाएपछि सत्यवती गाउँपालिका–४, एक्सिङका महिला मदिरा छाडेर पशुपालनमा जोडिए । ‘त्यो वेला कमाइको विकल्प थिएन, मदिराले गर्जो मात्रै चल्थ्यो। मदिरा व्यापारले समाजमा इज्जत पनि हुन्नथ्यो अनि लडाइँ झगडा धेरै हुन्थ्यो’, उनले भनिन्।
कुनै समय कमाउन परदेश गएका श्रीमान् तिलक गाहालाई पनि गाउँ फर्काएर उनले कृषिसँगै कुटानी-पिसानी व्यवसायमा जोडेकी छिन्।
एक्सिङकै मीना सारुले पनि डेढ दशक मदिरा पारेर जीविकोपार्जन गरिन्। अहिले चाडपर्वबाहेक मदिरा उत्पादन हुँदैन । घरमा समूहबाट किनेका दुई वटा गाई छन्। सारुको मोबाइलमा पनि महिना मरेपछि करिब ६० हजार रुपैयाँ आउँछ। श्रीमान् झमानसिंह सारू र आफ्नो सबै समय पशुपालनमा खर्च भइरहेको छ । याङएक्सिङ कृषि तथा पशुपालन महिला समूहको सदस्य भएकाले ऋण लिएर ६० हजार रुपैयाँमा गाई किनेकी सारुलाई पालिकाले २५ हजार अनुदान दियो ।
एक्सिङका राधिका र मीना जस्तै अधिकांश जनजाति महिला अचेल मदिरा उत्पादन छाडेर पशुपालन गर्छन् । एउटै गाउँका ४०-४५ महिलाले व्यावसायिक पशुपालन गर्दै आएका छन् । सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाले सबैभन्दा धेरै दूध सङ्कलन गर्ने गरेको छ।
सत्यवती दुग्ध उत्पादक सहकारी संस्थाका सञ्चालक गोकर्ण भण्डारीले लिम्घाका विभिन्न ठाउँ र खैरेनी बजारको समेत गरेर दैनिक ७०० लिटरसम्म दूध सङ्कलन गर्ने सहकारीले दही, पनिर उत्पादनलगायत दुग्ध विकास संस्थानलाई दूध बिक्री गर्ने गरेको बताउँछन्।


विश्व खबर 



















