काठमाडौं । मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको छ ।
हिजो (सोमबार) आह्वान गरिएको उक्त परिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरामी भएको भन्दै स्थगित गरेका थिए ।
बालुवाटार स्रोतका अनुसार हिजो प्रधानमन्त्री विरामी परेका थिएनन् । तर, हिजो स्थगित गरिएको बैठक आज (मंगलबार) बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।
आजको बैठकमा समसामयिक विषयवस्तु र सरकारी कामकारबाहीबारे छलफल हुने बताइएको छ । यसका साथै बैठकले आजै गभर्नर नियुक्ती गर्नसक्ने बुझिएको छ ।
एक महिनादेखि रिक्त गभर्नर पदपूर्तिका लागि लामो समयदेखि प्रमुख सत्तारूढ कांग्रेस र साझेदार एमालेबीच रस्साकस्सी चलेको थियो । तर, अन्ततः गभर्नर नियुक्ति गर्ने सहमति भएको छ ।
गभर्नर नियुक्तिका लागि सिफारिस समितिले डा.विश्व पौडेललाई सिफारिस गरेको छ । उनीलाई नै मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नसक्ने बुझिएको छ ।
गभर्नर नियुक्तिकै लागि आज प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच झन्डै दुई घण्टा छलफल भएको थियो । उक्त छलफलपछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ ।
बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छ ।























