काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्री दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिले उनको पहिलो कार्यकाल सन्तोषजनक रहेको ठहर गर्दै कार्यसम्पादन मूल्याङ्कनपछि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।
खत्रीको दोस्रो कार्यकाल जेठ ३ गतेदेखि लागू भए पनि उक्त दिन सार्वजनिक बिदा परेकाले उनले जेठ ४ गतेदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
खत्रीले भरत बस्नेतको कार्यकाल समाप्तिपछि सीईओको जिम्मेवारी सम्हालेका थिए। उनी ३२ वर्षदेखि निरन्तर रूपमा नेशनल लाइफ इन्स्योरेन्ससँग आबद्ध छन्। पेशागत यात्राको सुरुवात उनले सहायक पदबाट गरेका थिए। उनले भारतको बैङ्ग्लोरस्थित शिक्षण संस्थाबाट व्यवस्थापनमा स्नातकोत्तर अध्ययन सम्पन्न गरेका छन्।
तीन दशकभन्दा लामो इतिहास रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले खत्रीको नेतृत्वमा व्यवसायिक प्रगति हासिल गरेको कम्पनीले जनाएको छ।





















