काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै संकट नरहेको दावी गरेका छन् ।
शनिवार मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले कुनैपनि कुराको संकट नभएकाले ढुक्क भएर आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे ।
उनले आफूहरूलाई मार्ग निर्देश गर्न मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद रहेको बताए ।
उनले आफूहरूका प्रेरणाका स्रोत मदन भण्डारी, जीवराज आश्रित जस्ता महान् नेताहरू रहेको र उनीबाट सही ढंगले वैचारिक हिसाबले मार्गनिर्देशन भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले आजको परिस्थिति एउटा अनुकूल परिस्थिति भएको र अनुकूल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण र पार्टी विशेषलाई केन्द्रित गरी पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा पनि केन्द्रित गरेर हमला भइरहेको बताए ।
महाभारत युद्धका वेला युधिष्ठिरलाई घेराउ गरे जस्तै आफूलाई पनि त्यही हिसाबले घेर्ने काम भइरहेको उनले बताए । नेता ढल्यो भने पार्टी ढाल्न सहज हुने बुझाइले आफूमाथि प्रहार भइरहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘आजको परिस्थिति भनेको एउटा अनुकूल परिस्थिति हो । यस अनुकूल परिस्थितिलाई प्रत्यक्ष राजनीतिक आक्रमण, दलगत आक्रमण, त्यो पनि पार्टी विशेषलाई केन्द्रित गरेर, त्यसमा पनि पार्टी अध्यक्षमाथि व्यक्तिगत रूपमा पनि केन्द्रित गरेर हमला भइरहेको छ ।’
प्रधानमन्त्री ओलीले आफूहरू सत्यको मार्गमा रहेकाले अन्तिममा विजय सत्यकै हुने जिकिर गरे ।























