काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेस सभापति शेरबहादुर र विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनवार्ता भएको छ ।
आज (शुक्रबार) माओवादी पत्रकार संगठन प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले देउवासँग फोनवार्ता भएको बताएका छन् ।
जनतासँग माओवादी ः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’अन्तर्गत डडेलधुरा पुगेका प्रचण्ड र देउवाबीच टेलिफोन संवाद भएको हो ।
प्रेस सेन्टर नेपाल डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘डडेलधुरा शेरबहादुर देउवाको जिल्लाले चिनिन्छ । उहाँसँग कुराकानी भएको थियो । मेरो जिल्लामा तपाईंलाई स्वागत छ भन्नुभयो । उहाँले अभियान सफल रहोस् भनेर शुभकामना दिनुभयो । अन्य दलका नेताहरूले पनि हामीलाई न्यानो स्वागत गर्नुभएको छ ।’
पछिल्ला दिनहरूमा मुलुकको राजनीतिक वातावरणमा देखिएको अस्थिरता, सत्ता साझेदारहरूबीचको चिसोपन र सत्ता समीकरणमा सम्भावित फेरबदलका सन्दर्भमा दुई नेताबीच संवाद भएको हुनसक्ने विश्लेषण गरिएको छ । यद्यपि संवादबारे प्रचण्डले विस्तृत खुलाएनन् ।
देउवा–प्रचण्डबीच फोनवार्ताको चर्चा नसेलाउँदै माओवादी उपमहासचिव जनादर्शन शर्मा ‘प्रभाकर’ बूढानीलकण्ठ पुगेका छन् । कांग्रेस–एमाले गठबन्धनमा दरार आएकै समयमा शर्मा बूढानीलकण्ठ पुग्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।























