
बेलायती प्रधानमन्त्री किर स्टार्मरले शुक्रबार अल्बानियामा युरोपेली राजनीतिकर्मीको बैठकअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शान्ति कायम गर्न बेवास्ता गरेकोमा मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
शान्ति प्रक्रियामा पुटिनको हिचकिचाउने र ढिलाइ गर्ने रणनीतिले युक्रेनमा भइरहेको हत्या र रक्तपात असहनीय अवस्थामा पुगेको बताउदै स्टार्मरले शिखर सम्मेलनअघि विज्ञप्ति जारी गर्दै टर्र्कीएमा युक्रेन र रुसबीच वार्ता हुने अपेक्षा गरिएको बताइएको छ ।
युरोपेली राजनीतिक समुदाय (इपिसी) ले युरोपेली संघका सदस्य र अन्य देशका प्रतिनिधिबीच शुक्रबार अल्बानियाको राजधानी तिरानामा भेटवार्ता गर्दै छन् ।
युक्रेनमा द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल गर्न रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरू पनि इस्तानबुलमा भेट्दैछन् ।
यद्यपि पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्तामा भाग लिने स्पष्ट नभएकाले अमेरिकी विदेश मन्त्री मार्को रुबियोले उनीहरूले शान्ति चाहेकोमा शंका व्यक्त गरेका छन् ।
सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको पहलमा इपिसीको स्थापना भएको थियो ।
पुटिनले बिहिबार इस्तानबुलमा अमेरिकाले आयोजना गरेको शान्ति वार्तामा भाग नलिएपछि आयोजित बैठकका सहभागीहरूले क्रेमलिनमाथि दबाब बढाउने छन् ।
बिनाशर्त पूर्णयुद्धविराममा सहमति हुनुपर्ने बताउँदै स्टार्मरले अन्यथा पुटिनले गम्भिर मूल्य चुकाउनुपर्ने बताएका छन् ।
रुसले युद्धविराम स्वीकार नगरे आगामी हप्तामा प्रतिबन्धको कारबाहीमा रूसी ऊर्जा केन्द्रीत लक्ष्य हुने लन्डनले जनाएको छ । यसैबीच युरोपेली संघ र बेलायतले विगत केही दिनमा रुसी तेलविरुद्ध नयाँ प्रतिबन्ध बुधबार अनुमोदन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्