काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन संवाद भएको छ ।
आज (शुक्रबार) माओवादी केन्द्र निकट प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले देउवासँग टेलिफोन संवाद भएको बताएका छन् ।
‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’अन्तर्गत डडेलधुरा पुगेका प्रचण्ड र देउवाबीच टेलिफोन संवाद भएको हो ।
प्रेस सेन्टर नेपाल डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘डडेलधुरा शेरबहादुर देउवाको जिल्लाले चिनिन्छ । उहाँसँग कुराकानी भएको थियो । मेरो जिल्लामा तपाईंलाई स्वागत छ भन्नुभयो । उहाँले अभियान सफल रहोस् भनेर शुभकामना दिनुभयो । अन्य दलका नेताहरूले पनि हामीलाई न्यानो स्वागत गर्नुभएको छ ।’
पछिल्ला दिनहरूमा मुलुकको राजनीतिक वातावरणमा देखिएको अस्थिरता, सत्ता साझेदारहरूबीचको चिसोपन र सत्ता समीकरणमा सम्भावित फेरबदलका सन्दर्भमा दुई नेताबीच संवाद भएको हुनसक्ने विश्लेषण गरिएको छ । यद्यपि संवादबारे प्रचण्डले विस्तृत खुलाएनन् ।
सत्तारूढ गठबन्धनभित्र बढ्दै गएको अविश्वास, आगामी बजेट अधिवेशनको तयारी र संवैधानिक आयोगहरूमा हुने नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले हाइज्याक गरेपछि देउवा असन्तुष्ट छन् ।
पछिल्लो समय प्रमुख सत्तारूढ कांग्रेसका नेताहरूले सरकारप्रति असन्तुष्टि सार्वजनिकरूपमा व्यक्त गरेका छन् । सत्ताभित्रै नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रिया सम्बन्धमा साझा धारणा नबनिएको भन्दै गठबन्धन दलहरूबीच दूरी बढिरहेको छ ।
यसका साथै एक महिनायता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गरिएको छैन । यहीँबेला देउवा–प्रचण्डबीच भएको टेलिफोन संवादले कांग्रेस–माओवादीको पुनः सत्ता गठबन्धन हुने संकेत गरेको छ ।























