images
images
  • अस्ति डिपसिक, अहिले चिनियाँ हतियारले दिएको झट्का

    लगानीको क्षेत्रमा आम्दानी वा नगद प्रवाहको विश्लेषणभन्दा कहानीको महत्त्व ज्यादा हुने गर्छ।

    यतिबेला चीनको रक्षा उद्योगका विषयमा पाकिस्तानले एकदमै राम्रो कहानी प्रचार गरिरहेको छ। पाकिस्तानी सेनाले चिनियाँ जे–१०सी विमानद्वारा भारतका पाँचवटा फाइटर जेट खसाएको बताएको छ। जसमा तीनवटा राफेल, एउटा मिग–२९ र एउटा एसयू–३० रहेको पाकिस्तानी भनाइ छ। राफेल फ्रान्सको डेसल्ट एभियसनले बनाएको हो भने अन्य दुई रुसबाट आयात गरिएको हो। पाकिस्तानको यो दाबीलाई भारत सरकारले न पुष्टि गरेको छ, न त खारेज नै। र, त्यसको पर्याप्त प्रमाण पनि छैन।

    जे होस्, यो घटनाबाट लगानीकर्ताहरू उत्साहित भए। हुन पनि यो आधुनिक चिनियाँ लडाकु विमान र पश्चिमा जेटबीचको पहिलो वास्तविक लडाइँ थियो। र, आश्चर्यको कुरा जित चीनको भएको देखिन्छ। सोमबार जे–१०सी लडाकु विमान बनाउने छन्दु एयरक्राफ्ट कम्पनीको सेयर २० प्रतिशतले बढ्यो भने डेसल्टको सेयरमा ६.२ प्रतिशतको गिरावट आयो।

    केही मान्छेहरू यसलाई चीनको डिपसिक सार्वजनिक हुँदाजस्तै अर्को महत्त्वपूर्ण क्षण भनिरहेका छन्। जनवरीको अन्तिममा कुनै चर्चामा नरहेको हाङ्चाउस्थित एक स्टार्टअपले एउटा यस्तो एआई मोडेल बनायो, जसले निकै सस्तोमा अमेरिकी ओपनएआई हाराहारी काम गर्न सक्थ्यो। जसले चिनियाँ प्रविधि क्षेत्रको सेयर मूल्य आकाशिन पुगेको थियो।

    के यसपटक हामी रक्षा क्षेत्रमा त्यसकै पुनरावृत्ति देखिरहेका छौँ त?

    यी दुई घटनाक्रममा म समानता देख्छु। अमेरिकी प्रविधि क्षेत्रका लागि डिपसिक कति ठूलो झट्का हो भन्ने कुराको निर्क्यौल अझै भइसकेको छैन। तर, यसको आगमनले चीनको आगामी बाटो प्रस्ट पारेको छ। त्यसले डोनाल्ड ट्रम्पको भन्सार महसुलका बाबजुद चीनमा वृद्धि सम्भव छ भन्ने पनि देखाएको छ।

    इलेक्ट्रोनिक्स र लत्ताकपडाका अलावा चिनियाँ कम्पनीहरू सफ्टवेयर बनाउन पनि पोख्त छन् भन्ने सोचलाई यसले बढावा दिएको छ। समय बित्दै जाँदा चिनियाँहरूले सेवा निर्यातको बजारमा पनि आफ्नो हिस्सा आर्जन गर्न सक्ने छन्, जसमा अमेरिकी दबदबा कायम छ।

    त्यसैगरी, चिनियाँ रक्षा कम्पनीहरूले पनि एक दिन विदेशमा ज्यादा हतियार बेच्न सक्ने छन् भन्ने यसले देखाएको छ। विश्वको हतियार निर्यातलाई हेर्दा २०२० देखि २०२४ को बीचमा चीनले मात्र ५.९ प्रतिशत हिस्सा ओगटेको देखिन्छ। जुन अमेरिकाभन्दा अति नै कम हो। अमेरिकाले हतियार निर्यातको ४३ प्रतिशत हिस्सा ओगटेको स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको आँकडा छ। त्यसमाथि चीनले निर्यात गर्ने देश सीमित छन्। चिनियाँ हतियार निर्यातको दुई तिहाइ हिस्सा त पाकिस्तानमै जान्छ।

    कल्पना गरौँ– चीनले ‘ग्लोबल साउथ’मा अझ बढी लडाकु विमान र क्षेप्यास्त्र बेच्न थाल्यो। पश्चिम अफ्रिकामा त यसअघि नै चीन सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो। जहाँको हतियार आयातको २६ प्रतिशत हिस्सा चीनले ओगटेको छ। यो अति नै आकर्षण व्यवसाय हो। फ्रान्सको डेसल्ट एभियसनले गत वर्ष १७ प्रतिशत खुद नाफा कमाएको थियो।

    बेइजिङसँग निकट विकासशील मुलुकहरूले थप सैन्य सामग्रीको अर्डर दिन्छन् कि दिँदैनन्, त्यो हेर्न लगानीकर्ताहरूले महिनौँ र उस्तै परे वर्षौं कुर्नुपर्ने हुन्छ। तर, कुनै कम्पनीले नाफा कमाउनुअघि नै त्यसमा लगानी गर्ने कुरा लगानीकर्ताका लागि नयाँ होइन। यस वर्ष फ्रान्सेली र जर्मन हतियार कम्पनीहरूको मूल्यमा पनि व्यापक वृद्धि भएको छ। अमेरिकाको अलगाववादी विदेश नीति र नेटो मुलुकले रक्षा बजेट वृद्धि गर्ने घोषणाका कारण। युरोपेलीहरू आपसमा मिलेर काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा अलग हो। तर, त्यसले डेसल्टको मूल्यमा यसवर्ष सोमबारको गिरावटका बाबजुद ५० प्रतिशत वृद्धि ल्याउनबाट रोकेन। उता, जर्मनीको राइनमेटल एजी र हेन्सोल्ट एजीको बजार भाउ दोब्बरभन्दा बढी भएको छ।

    लगानी गर्ने हतियार कम्पनी पनि सीमित मात्रै छन्। युरोपेली सैन्य उद्योगले यति राम्रो प्रदर्शन गर्नुको कारण के हो भने लगानीकर्ताले लगानी गर्न पाउने सार्वजनिक रूपमा सूचीकृत कम्पनी हातका औँलामा गन्न सकिन्छ।

    किनकि दशकौँदेखि युरोप राष्ट्रिय सुरक्षाका लागि अमेरिकामा निर्भर थियो। त्यसैले यो महादेशको रक्षा उद्योग टुक्राटुक्रामा छरिएको छ र यसमा व्यापक सुधारको आवश्यकता छ। चीनमा ठ्याक्कै त्यस्तै तस्बिर देखिन्छ। सेनाको आधुनिकीकरण नयाँ कुरा हो र आयातीत रुसी हतियारमा निर्भरता चीनले एक दशकअघि मात्र तोडेको हो।

    हतियार निर्यातकर्ताहरूका लागि वास्तविक लडाइँमा सफलताजति गतिलो विज्ञापन अरु केही हुनै सक्दैन। एक हिसाबले पाकिस्तानसँग चीनको लामो मित्रताको फल उसलाई प्राप्त हुन थालेको छ। बेइजिङको सैन्य शक्तिको मार्केटिङ इस्लामावादले गज्जबले गरिरहेको छ। (ब्लुमबर्गबाट)

    प्रतिक्रिया दिनुहोस्
    images
    images