विराटनगर : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सहायक प्राध्यापक डा. नीता यादवले बिहीवार पत्रकार सम्मेलनमार्फत न्यायको माग गरेकी छन्।
उनले कानुनी रूपमा श्रीमान्बाट प्राप्त जग्गा भोगचलनमा श्रीमान्को परिवारले अवरोध गरेको आरोप लगाउँदै समस्या समाधानका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराएकी हुन्।
उनका अनुसार मोरङको बुढीगंगा गाउँपालिका–४ टंकीसिनबारीमा रहेको ४ बिघाभन्दा बढी जग्गा सुनसरी जिल्ला अदालतले २०८१ जेठ १३ गतेको फैसलाबाट आधा हिस्सा डा. नीता यादवको नाममा नामसारी गर्न आदेश दिएको हो।
उनका ससुरा डा. शीतल यादव र देवर डा. सुनिल यादवले अदालतको आदेश कार्यान्वयनमा अवरोध पुर्याउँदै धम्की दिइरहेको आरोप उनले लगाएकी छिन्।
डा. नीताका देवर डा. सुनिल यादव कोशी अस्पतालमा सर्जनका रूपमा कार्यरत छन् भने ससुरा डा. शीतल यादव सोही अस्पतालबाट सेवा निवृत्त भएका चिकित्सक हुन्। सेवा निवृत्तिपछि उनी सिटी अस्पतालका सञ्चालक समेत रहेको डा. नीताको भनाइ छ।
उनका अनुसार श्रीमान् डा. सुशील यादवको मृत्यु २०८१ जेठ ३१ गते भएको थियो। त्यसअघि नै उनले अंश मुद्दा दायर गरेकी थिइन् तर श्रीमान्को मृत्युपछिको सम्पत्ति विवाद झन् चर्किएको उनले बताइन्।
उच्च अदालतको पूर्णपाठ अनुसार सुशील यादवको मृत्यु भइसकेको हुँदा बाँकी उत्तराधिकारी नरहेको र मुद्दा विचाराधीन अवस्थामा मृत्यु भएकाले पुनरावेदनको म्याद दिनुपर्ने अवस्था नरहेको ठहर गरिएको छ।
अदालतको फैसला आफ्नो पक्षमा आए पनि गाउँपालिकाका कर्मचारीले जग्गा प्रयोगमा अवरोध पुर्याएको आरोप पनि उनले लगाएकी छन्। खेती मजदुरलाई बस्नका लागि टहरा बनाउन, धारा र विद्युत् जडान गर्न जाँदा बुढीगंगा गाउँपालिकाका कर्मचारीले ‘जग्गा विवादित छ’ भन्दै काम गर्न रोक लगाएको उनको भनाइ छ।
‘कानुनीरूपमा पाएको जग्गामा न त टहरा बनाउन पाएँ, न त पानी–बत्ती जडान गर्न पाएँ’, उनले भनिन्, ‘ससुरा र देवरको प्रभावका कारण गाउँपालिकाका कर्मचारी पनि मेरो काममा अवरोध गरिरहेका छन्।’
एमबीबीएस अध्ययनकै क्रममा विवाह बन्धनमा बाँधिएकी डा. नीताले श्रीमान् सिजोफ्रेनिया नामक मानसिक रोगबाट ग्रसित रहेको कुरा विवाहपछि मात्र थाहा पाएको दाबी गरिन्।
यसै विषयमा सासूसँग विवाद भई तिक्तता बढ्दै गएको र श्रीमान्को कमाइसमेत नभएकाले माइतीको सहयोगमा आफ्नो अध्ययन पूरा गरेको बताइन्।
‘विवाहपछि निरन्तर असहयोग, दुर्व्यवहार र मायाको अभाव झेलेकी छु’, उनले भनिन्, ‘आजसम्म पनि न्याय पाउन संघर्षरत छु।’


विश्व खबर 

















