हेटौंडा-हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आफैंले उद्घाटन गरेको सैलुनलाई एसी (एयर कन्डिसनर) र इन्भर्टर जडानका लागि सहयोग गर्ने तोकआदेश दिएकी छन्। यो कदमप्रति चौतर्फी आलोचना शुरु भएको छ, किनकि सम्बन्धित सैलुनका सञ्चालक मेयर लामासँग पारिवारिक सम्बन्ध भएका व्यक्ति भएको खुलासा भएको छ।
हेटौंडा–४, शितलमहल चोकमा रहेको ‘दी नाइन्टिन सैलुन’ को उद्घाटन केही समयअघि मेयर लामाले गरेकी थिइन्। सोही कार्यक्रमको सन्दर्भमा सैलुन सञ्चालक सुसन घलानले उपमहानगरपालिकामा पेश गरेको मागपत्रमा भनिएको छ — “उद्घाटन कार्यक्रममा तपाईंले भन्नुभएको ‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानको लागि सहयोग गर्छु’ भन्ने कुरा सम्झेर, यो औपचारिक निवेदन लिएर उपस्थित भएको छु।”
उक्त मागपत्रको आधारमा नगरपालिकाबाट सैलुनका लागि एसी र इन्भर्टर उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको हो। सार्वजनिक स्रोतको यथोचित प्रयोगबारे उठेका प्रश्नबीच निजी व्यवसायिक संस्थालाई तोक आदेश दिने कार्यप्रति सरोकारवालाहरूले आपत्ति जनाएका छन्।
संचालक र मेयरबीचको सम्बन्ध, सैलुनको निजी स्वरूप, र नगर बजेटको यस्तो प्रयोगप्रति स्थानीय समाजिक अभियन्ता र राजनीतिक विश्लेषकहरूले ‘हितसङ्गष’ (conflict of interest) को गम्भीर शंका उठाएका छन्। आलोचकहरूले यो कार्य नैतिक र कानुनी दृष्टिले असहज मात्र नभई नगरपालिकाको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउने बताएका छन्।
यस विषयमा उपमहानगर वा मेयर लामातर्फबाट औपचारिक प्रतिक्रिया आइसकेको छैन। यद्यपि सामाजिक सञ्जालमा आलोचना बढ्दै गएको छ भने केही जनप्रतिनिधिहरूले आन्तरिक छानबिनको मागसमेत उठाएका छन्।


विश्व खबर 

















