images
images
  • विभिन्न आपराधिक मुद्दामा तीन सांसदको पद चैट, एक जनालाई वर्षौँदेखि खोज्दै प्रहरी

    काठमाडौं । २०७९ सालको आमनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये तीन सांसद विभिन्न आपराधिक मुद्दाका कारण निलम्बनमा परेका छन् भने एक सांसद पक्राउ पुर्जी जारी भएयता फरार छिन् ।

    मोहनबहादुर बस्नेत

    भ्रष्टाचार मुद्दा दर्ता भएसँगै नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेत संसद निलम्बनमा पर्ने तेस्रो सांसद बनेका छन् । टेरामक्स प्रविधि खरिद प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध १४ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    सिन्धुपाल्चोक–२ बाट निर्वाचित बस्नेतले सञ्चारमन्त्री रहेका बेला टेरामक्स प्रविधिको लागि ७० करोड रुपैयाँ बजेट स्वीकृत गरेका थिए ।

    रवि लामिछाने र टोपबहादुर रायमाझी पहिले नै निलम्बनमा

    बस्नेतअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा (एमाले)का टोपबहादुर रायमाझी निलम्बनमा परिसकेका छन् ।

    चितवन–२ बाट निर्वाचित लामिछाने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मुछिएपछि ८ पुस २०८१ देखि निलम्बनमा परेका हुन् ।

    रायमाझी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएपछि सांसद पदबाट निलम्बित भएका थिए ।

    सहकारी ठगीमा मुछिएकी सांसद गीता बस्नेत फरार

    सहकारी ठगी प्रकरणमा राप्रपाकी सांसद गीता बस्नेत एक वर्षदेखि फरार छिन् । नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाबाट १६ करोड ५८ लाख रुपैयाँ अपचलन गरेको अभियोगमा १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएयता उनी सम्पर्कविहीन छन् ।

    प्रहरी अनुसन्धानका अनुसार, बस्नेत सञ्चालक रहेको बर्दियाको कृष्णसार रिसोर्टमा चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारीमार्फत करोडौं रकम लगानी गरिएको छ ।

    चितवनको सनराइज सहकारीबाट तीन व्यक्तिका नाममा करिब ९ करोड र नमस्ते सहकारीमार्फत सञ्जीवकुमार महतोका नाममा २५ लाख रुपैयाँ निकालेर रिसोर्टमा लगानी गरिएको प्रहरीले जनाएको छ ।

    संसदको मर्यादा र सार्वजनिक उत्तरदायित्वमाथि प्रश्न

    प्रतिनिधिसभामा भ्रष्टाचार, ठगी र आपराधिक आरोपमा निलम्बनमा परेका सांसदहरूको संख्या बढ्दै जाँदा संसदको नैतिकता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ ।

    सार्वजनिक सेवा र उत्तरदायित्वमा रहेका व्यक्तिहरूमाथि ठोस कारबाही नभएको आलोचना भइरहँदा कानुनी प्रक्रिया निष्पक्ष र प्रभावकारी हुने अपेक्षा पनि थप बलियो भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images