images
images
  • बहुचर्चित टेरामक्स प्रकरणमा सत्तारूढका सांसद गोकुल बाँस्कोटा र ज्ञानेन्द्र कार्कीलाई उन्मुक्ति

    काठमाडौं । बहुचर्चित टेरामक्स प्रविधि खरिद प्रकरणमा संलग्न देखिएका दुई पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा र ज्ञानेन्द्रबहादुर कार्कीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाउने निर्णय गरेको छ ।

    सार्वजनिक कागजात र मन्त्रीस्तरीय निर्णयमार्फत दुवैले खरिद प्रक्रियामा हस्तक्षेप गरेको देखिए पनि अख्तियारले ‘प्रमाणको अभाव’ देखाउँदै उनीहरूलाई क्लिन चिट दिएको हो ।

    बाँस्कोटाबाट ७० करोडको बजेट स्वीकृति

    २०७५ सालको ७ कात्तिकमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले टेरामक्स प्रविधिको लागि ७० करोड रुपैयाँ बजेट स्वीकृत गरेका थिए । नेपाल दूरसञ्चार प्राधिकरणले २५ करोड रुपैयाँ माग गर्दै पठाएको बजेट प्रस्तावलाई मन्त्री बास्कोटाले संशोधन गर्दै ७० करोड पुर्याएका थिए ।

    बाँस्कोटाले परामर्शदाता छनौटका लागि २० करोड र कार्यान्वयनका लागि ५० करोड रुपैयाँ स्वीकृत गरेका थिए । फाइल कागजातहरू अनुसार, उक्त निर्णय उनले मन्त्रालय स्तरमै गरेका थिए ।

    तर अख्तियारको अनुसन्धानपछि निष्कर्ष निकालिएको छ कि बाँस्कोटाले टेरामक्स खरिदको कुनै पनि चरणमा प्रत्यक्ष आदेश वा कार्यान्वयन अघि नबढाएको देखिएकोले उनलाई मुद्दा नचलाउने निर्णय लिइएको हो ।

    कार्कीबाट पुरक बजेटमा सहमति

    २०७८ सालमा तत्कालीन सञ्चारमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीले पनि टेरामक्स प्रकरणमा बजेट स्वीकृतिमा हस्ताक्षर गरेका थिए । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार कोषमार्फत ७० करोड रुपैयाँ बजेट माग गरेकोमा, कार्कीले २५ कात्तिकमा सो प्रस्तावमा ‘सदर’ लेख्दै बजेट स्वीकृति दिएका थिए ।

    यसअघि नै स्वीकृत भइसकेको कार्यक्रमलाई निरन्तरता दिन बजेट पठाइएको भन्दै अख्तियारले कार्कीमाथि पनि मुद्दा नचलाउने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images