काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।
प्रमुख कासिकोभले आगामी ‘सेप्टेम्बर’मा काल्मिकियामा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै पनि किसिमको सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरे । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाए ।
भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।
कति नेपाली मारिया रुस–युक्रेन युद्धमा ?
रुस–युक्रेन युद्धका क्रममा रुसी सेनामा कार्यरत ७३ जना नेपालीले ज्यान गुमाएका छन् ।
पुस ९ यतामात्रै २३ जनाको मृत्यु पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु प्रमाणित हुनेको संख्या अझै बढ्ने सम्भावना छ ।
रुसले गत वर्षको चैतदेखि नै रुसी सेनामा कार्यरत नेपाली नागरिकको पहिचानका लागि पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन बेपत्ता भएका नेपालीको नामसहितको विवरण पठाउन थालेको छ ।
यस्तै रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
रुसले युद्धसम्बन्धी पूर्णतालिम नदिई ‘रेड जोन’मा पठाउँदा मानवीय क्षति बढेको बताइएको छ ।


























