काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन् ।
पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन । ‘मेरिटोक्रेसी’का आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्नसक्ने मान्छे भए देशलाई भइहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारमा म मात्र छैन । त्यसैले सकेसम्म ‘मेरिटोक्रेसी’लाई महत्व दिन्छु ।’
यतिबेला गभर्नर एक महिनाभन्दा बढी समय रिक्त छ । उक्त रिक्त पदपूक्तिका लागि सरकारले यसअघि नै प्रक्रिया अगाडि बढाइ सकेको छ । राजनीतिक वृत्त चलेको चर्चाअनुसार प्रमुख सत्तारूढ कांग्रेसको भागमा परेको गभर्नर हालसम्म सरकारले नियुक्त गर्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिको प्रक्रिया एक महिनासम्म अन्योलमा रहँदा देशको मौद्रिक नीतिमा अनिश्चितता बढेको छ ।
हालसम्म नियुक्ति प्रक्रिया अगाडि बढाउन गठित समितिका दुई सदस्य र सम्भावित उम्मेदवारसहित पाँचजनाले राजीनामा दिँदा राष्ट्र बैंकको स्वायत्तता र गरिमामाथि गम्भीर प्रश्न उठेको छ ।
गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य विजयनाथ भट्टराई र डा.विश्व पौडेलले राजीनामा दिएका छन् । यस्तै, सम्भावित उम्मेदवारका रूपमा हेरिएका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ र डा.गुणाकर भट्ट तथा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुङ्गानाले पनि गभर्नरको दौडबाट नाम फिर्ता लिँदै पदबाटै राजीनामा दिएका छन् ।


विश्व खबर 


















