images
images
  • रवि र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी, मुसलमान र पोखरेलको इजलासमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

    वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले दायर गरेको रिट वैशाख ८, वैशाख २८ र वैशाख ३० गते पेसी चढेकोमा हेर्न नमिल्ने भएको थियो ।

    वैशाख ९ गते अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो ।

    यस्तै रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर गरेका अन्य दुई रिटमाथि पनि आज सोही इजलासमा सुनुवाइ हुँदैछ ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको पक्राउविरुद्ध सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको छ ।

    मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित उनकी पत्नी सारिका कार्कीले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । उनले पक्राउ र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध रिट दायर गरेकी हुन् ।

    रिटमा मिश्रलाई गैरकानुनीरूपमा थुनामा राख्ने उद्देश्यले एकपछि अर्को आरोप थपिएको, अनुसन्धानमा प्रगति नहुँदा पनि अदालतले थुनाको म्याद थप्ने अनुमति दिइरहेको दाबी गरिएको छ ।

    चैत १५ मा नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिको आह्वानमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाट भएपछि त्यसैदिन मिश्र पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images