images
images
  • तत्काललाई टर्यो भारत-पाकिस्तान द्वन्द्व, दुवै देश युद्धविरामका लागि सहमत

    पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसहाक डारले आफ्नो देश र भारत ‘पूर्ण र तत्काल युद्धविराम गर्न सहमत’ भएका बताएका छन् । शनिबार सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो जानकारी गराएका सीएनएनले जनाएको छ ।

    उनले लेखेका छन्, “पाकिस्तान र भारतले तत्काल लागु हुने गरी युद्धविराममा सहमति जनाएका छन् । पाकिस्तानले सधैँ आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी यो क्षेत्रमा शान्ति र सुरक्षा चाहेको छ ।”

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि भारत र पाकिस्तान युद्धविराममा सहमत भएका घोषणा गरेका थिए ।
    भारतका विदेशसचिव विक्रम मिश्रीले आफ्नो देश र पाकिस्तानले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका छन् । स्थानीय समयानुसार शनिबार (मे १०) साँझ ५ बजेदेखि युद्धविराममा सहमति लागु भइसकेको छ ।

    उनका अनुसार, पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ)ले स्थानीय समयानुसार शनिबार दिउँसो आफ्नो भारतीय समकक्षीसँग फोनवार्ता गरेका थिए । त्यसक्रममा भारतीय समयानुसार साँझ ५ बजेदेखि दुवै पक्षले ‘सबै गोलाबारी र सैन्य कारबाही रोक्ने’ सहमति भएको थियो ।

    दुई देशका महानिर्देशकले सोमबार फेरि छलफल गर्ने तय भएको उनले पत्रकार सम्मेलनक्रममा बताएका सीएनएनले जनाएको छ ।

    यसअघि, पाकिस्तानका विदेशमन्त्रीले दुवै देश युद्धविराम गर्न सहमत भएका बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराममा सहमत भएका घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images