काठमाडौं । दक्षिण एशियाका दुई परमाणु शक्ति राष्ट्र भारत र पाकिस्तानको सम्बन्ध ऐतिहासिकरूपमा तनावग्रस्त रहँदै आएको छ।
सन् १९४७ मा ब्रिटिश भारत विभाजनपछि यिनको सम्बन्धले तीनपटक खुला युद्ध देखिसकेको छ— सन् १९४८, १९६५ र १९७१ मा। साथै सन् १९९९ को कारगिल द्वन्द्व तथा कश्मीरको विषयमा निरन्तरको झडपले यी दुई राष्ट्रबीचको सैन्य प्रतिस्पर्धालाई अझ पेचिलो बनाएको छ।
यस्तो अवस्थामा दुवै मुलुकको सैन्य शक्तिको तुलनात्मक अध्ययन गर्नु अत्यन्तै सान्दर्भिक रहन्छ।
१. सैन्य बजेटमा भारतको वर्चस्व
भारतको रक्षा बजेट हाल करिब ८३ अर्ब अमेरिकी डलर रहेको छ, जुन विश्वमै तेस्रो ठूलो रक्षा बजेट मानिन्छ। भारतले आफ्नो बजेटको झण्डै २ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने गर्दछ।
पाकिस्तानको वार्षिक रक्षा बजेट भने करिब ११ अर्ब अमेरिकी डलर मात्रै छ। पाकिस्तानको कुल बजेटको ठूलो हिस्सा सुरक्षा क्षेत्रमा खर्च भए पनि आर्थिक सघंर्ष, विदेशी ऋण, र मुद्रा अवमूल्यनले उसकाे सैन्य विस्तारमा प्रभाव पारेको देखिन्छ।
२. जनशक्ति : भारतसँग झण्डै दोब्बर सक्रिय सैनिक
भारतसँग हाल १४ लाख ५० हजार सक्रिय सैनिक छन्, जुन विश्वकै दोस्रो ठूलो सक्रिय सेना हो। थप ११ लाखभन्दा बढी रिजर्भ फोर्स पनि तयारी अवस्थामा छन्।
पाकिस्तानसँग ६ लाख ५० हजार सक्रिय सैनिक छन् भने रिजर्भ फोर्स करिब ५ लाखकाे हाराहारीमा छ।
३. परमाणु हतियारको असमान समानता
दुवै देश परमाणु शक्ति सम्पन्न छन्।
भारत: करिब १६०–१७० परमाणु वारहेड छन्। ‘नो फस्ट यूज’ (पहिला प्रयोग नगर्ने नीति) घोषणा गरेको छ।
पाकिस्तान: १६५–१७५ परमाणु हतियार रहेको अनुमान छ। पाकिस्तानले ‘नो फस्ट यूज’ नीतिलाई स्वीकारेको छैन।
परमाणु नीतिको हिसाबले पाकिस्तान आक्रामक स्थितिमा देखिन्छ भने भारतले सन्तुलित रणनीति लिएको छ।
४. हवाई शक्ति : भारतको प्रविधिमैत्री नेतृत्व
भारतले आधुनिक लडाकु विमानहरू (Su-30MKI, Rafale, Tejas आदि) सञ्चालन गरिरहेको छ।
लडाकु विमान संख्या: भारतसँग करिब ६५०+ विमान छन्।
पाकिस्तानसँग JF-17 (चीनसँग सहकार्यमा निर्मित), F-16 लगायत गरी ३९०+ लडाकु विमान छन्।
भारतले फ्रान्स, रुस, अमेरिका र स्वदेशी प्रविधिमा आधारित विमान विकासमा ध्यान दिएको छ भने पाकिस्तानले धेरैजसो चिनियाँ प्रविधिमा निर्भरता देखाएको छ।
जलसेना : भारतसँग विमानवाहक जहाज, पाकिस्तानसँग छैन
भारतीय नौसेनामा समावेश छन्:
१ विमानवाहक जहाज (INS Vikrant),
१० विध्वंसक,
१५ पनडुब्बीहरू,
आधुनिक फ्रिगेट र कोरभेट्स।
पाकिस्तानसँग कुनै विमानवाहक जहाज छैन।
८ पनडुब्बीहरू र १० फ्रिगेटहरूका साथमा उसको जलसेना भारतको तुलनामा सीमित देखिन्छ।
मिसाइल प्रणाली र प्रविधि
भारतसँग अग्नि–I देखि अग्नि–V सम्मका अन्तरमहादेशीय मिसाइल, ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल, र पृथ्वी सिरिजका क्षेप्यास्त्र छन्।
पाकिस्तानसँग शाहीन, घौरी, अब्दाली जस्ता मिसाइल छन् जसमा केहि चीनबाट प्राप्त प्रविधि प्रयोग भएको हो।
भारतको DRDO र ISRO जस्ता संस्था सैन्य प्रविधिमा आत्मनिर्भरता हासिल गर्ने दिशामा क्रियाशील छन्। पाकिस्तानको रक्षा प्रणाली अझै पनि चीन र अमेरिकामा आधारित देखिन्छ।
अन्तर्राष्ट्रिय रैंकिङ र प्रभाव
ग्लोबल फायरपावर (Global Firepower Index) अनुसार:
भारत: विश्वको ४औं शक्तिशाली सेना
पाकिस्तान: विश्वको ७औं स्थानमा
भारतको अन्तर्राष्ट्रिय छवि, संयुक्त राष्ट्रसंघमा शान्ति मिसनमा सहभागिता, र आफ्नै रक्षा उत्पादन क्षमताका कारण उसको प्रभाव बढ्दो छ। पाकिस्तानले रणनीतिक भागीदारीमा ध्यान केन्द्रित गरेको छ— विशेषगरी चीन र टर्कीसँग।
रणनीतिक सन्तुलन कि स्पष्ट असमानता?
सैन्य तथ्यांक हेर्दा भारत र पाकिस्तानबीच स्रोत, प्रविधि, जनशक्ति र कूटनीतिक क्षमतामा ठूलो अन्तर देखिन्छ। भारतले रक्षा नीतिलाई दीर्घकालीन रणनीतिक योजना बनाइरहेको छ भने पाकिस्तानले कम स्रोतबाट पनि संतुलन कायम राख्न कूटनीतिक गठबन्धन र परमाणु रणनीति अपनाइरहेको छ।
दुबै देशबीचको सैन्य शक्ति असन्तुलन कश्मीर, आतंकवाद, जल विवादजस्ता मुद्दाहरूमा तनाव बढाउने तत्त्व बन्न सक्छ। तर २१औं शताब्दीको यो चरणमा शान्तिपूर्ण संवाद र सैन्य प्रतिस्पर्धालाई नियन्त्रण गर्नु नै दुवै देशको दीर्घकालीन हितमा हुनेछ।


विश्व खबर 


















