काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।
कांग्रेस–एमाले नेतृत्वको सरकारमा खलल आएकै समयमा प्रधानमन्त्री र राजदूतको भेटवार्ता भएको छ । मूलतः गभर्नर नियुक्तिलाई लिएर सरकारमा खलल आएको हो ।
यसबारे छलफल गर्न आज प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीसँग छलफल गरेका छन् । उक्त छलफलमा देउवाले प्रधानमन्त्री ओलीकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको ब्रिफिङ गरेका छन् । सत्तापलट हुनसक्ने संकेत गरेका छन् ।
यही सयमा प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतबीच भेटवार्ता भएको छ । उक्त भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’मा आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको तर ‘जेट हमला’ गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट हिजो (बिहीबार) सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका थिए ।























