काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिमा असहमति जनाउँदै विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
उनीहरू आज (शुक्रबार) बिहानैदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा आफ्ना विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
सरकार र शिक्षकबीचको वार्तामा आफ्ना माग पूरा नभएको भन्दै विद्यालय कर्मचारी परिषद्ले असन्तुष्टि जनाएको छ ।
उसले विद्यालयका सबै कार्य प्रभावित पारेर कर्मचारीलाई आन्दोलनमा उतारेको छ ।
शिक्षकहरू भने सरकारसँग भएको वार्ता पश्चात् विद्यालय फर्केका छन् ।
उनीहरूले आज (शुक्रबार) देखि नै पठनपाठन सुरु गरेको नेपाल शिक्षक महासंघले जनाएको छ ।
महासंघको नेतृत्वमा झन्डै एक महिना देशैभरका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए ।
त्यसपछि सरकार र महासंघबीच ९ बुँदे सहमति भएसँगै शिक्षकहरू विद्यालय फर्केका छन् भने कर्मचारी पुनः आन्दोलनमा फर्किएका छन् ।





















