काठमाडौं । बागमती प्रदेश, सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले हेटौंडास्थित पल्पसा आइसोलेसन सेन्टरको अवलोकन गर्नुभएको छ ।
जेठ ६ देखि मकवानपुर उद्योग वाणिज्य संघको संयोजकत्वमा करिब दुई दर्जन सामाजिक तथा अन्य क्षेत्रमा काम गर्ने संघसंस्था तथा व्यवसायीहरुको सहकार्यमा हेल्प डेस्क सञ्चालन हुँदै आएको थियो । हेल्प डेस्कमार्फत स्वास्थ्यकर्मीहरुले फोनबाटै स्वास्थ्यलगायत परामर्श दिँदै आएको र जेठ १९ गतेदेखि आइसोलेसन सेन्टर सञ्चालन गरिएको संघले जनाएको छ ।
त्यसक्रममा मन्त्री बस्नेतले सबैको सहकार्यबाट आइसोलेसन सेन्टर र हेल्प डेस्क सञ्चालन गर्नु सराहनीय काम भन्दै प्रशंसा गर्नुभएको थियो । यस प्रकारको सामुहिक काम अन्य ठाउँमा पनि हुनुपर्ने भन्दै यसरी काम गर्ने संघसंस्थालाई प्रोत्साहन गर्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
हालसम्म सो सेन्टरमा ४४ जनाले सेवा लिएकोमा ५ जना उपचारको आवश्यकता परेकाले विभिन्न अस्पतालमा रिफर गरिएको थियो भने २२ जना अहिले बसिरहेका छन् । अरु निको भएर घर फर्किएका हुन् ।
यहाँ बस्नेहरुलाई आवश्यक स्वास्थ्य सेवा र परामर्श दिने गरी चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ भने अस्पताल जानुपर्ने भए रिफर गर्ने गरिएको छ । यसअघि हेल्प डेस्कमार्फत घरदैलो अभियान पनि गरिएको थियो ।


विश्व खबर 



















