images
images
  • धनगढी विमानस्थल विस्तारमा अर्बौ भ्रष्टाचारको आशंका, ‘म विरुद्ध भ्रामक लान्छना लगाइयो’- पूर्वमन्त्री प्रेम आले

    काठमाडौं । पूर्वसंस्कृति पर्यटन मन्त्री प्रेम आलले धनगढी विमानस्थलको स्तरोन्नती लागिका विनियोजन भनिएको बजोट सो आयोजनामा कुनै रकम खर्च नगरी सो अन्यत्र विमानस्थलमा खर्च गरिएको दाबी गरेका छन् । धनगढी विमानस्थल निर्माण र विस्तारमा भएको भष्ट्रचारमा पूर्व मन्त्री प्रेम आलेका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको खबर सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको समयमा धनगढी विमानस्थल विस्तारका नाममा करोडौँ रुपैयाँ अपचलन र अनियमितता भएको विषयमा अख्तियारले कागजपत्र र विवरण मागेको खबर आर्थिक न्यूजमा प्रकाशित भएको थियो । अख्तियारले चैत २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चैत ३१ गते नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरी सबै विवरण माग गरिसकेको छ । पूर्वमन्त्री आलेको निर्देशनमा भ्रष्टाचार भएको भन्ने उजुरी अख्तियारमा परेपछि छानबिन थालिएको हो ।
    तर, उक्त खबरको खण्डन गर्दै पूर्वमन्त्री आलले पछिल्लो समय केही मान्छेहरूले नियोजित रूपमा दुराग्रह राखेर बदनियतका साथ आफुलाई धनगढी विमानस्थलको स्तरोन्नतीसँग जोडेर कपोलकल्पित, भ्रामक लान्छना लगाएको उल्लेख गरेका छन् । ‘केही व्यक्तिहरुले मिडियाबाजी गरेको कार्य प्रति घोर निन्दा तथा भत्सर्ना गर्दछु । यस्ता कार्यले देश र जनताको सेवा गर्ने मेरो भावनामा कुनै असर समेत नगर्ने कुरा अवगत गराउन चाहन्छु । मेरो प्रष्ट दृष्टिकोण धनगढी विमानस्थलको स्तरोन्नती हुनैपर्छ’, मन्त्रीआलेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

    आफु छोटो समय (८ महिना २१ दिनको कार्यकाल) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सहर धनगढीसँग जोडिएको धनगढी विमानस्थललाई स्तरोन्नती गर्न स्थानीयस्तरको समेत आवश्यकता महसुस गरी बजेटको व्यवस्थापन भएको उनको भनाई छ ।

    हालको १८ सय मिटर रहेको धावनमार्गलाई २५ सय मिटरसम्म बनाउन नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकबाट २०७८/०७९ मा प्राधिकरण स्रोतबाट धनगढी विमानस्थल जग्गा अधिग्रहण गर्न ब. शि. नं.- १.१.०२ जग्गा खरिद तथा विकासको लागि १ अर्ब बजेट विनियोजन भएको उनको भनाई छ ।

    ‘२०७९/०८० को वार्षिक बजेटमा नेपाल सरकारको स्रोतबाट धनगढी लगायतका विमानस्थलमा १ अर्ब २२ करोड ७५ लाख, २०८०/०८१ को प्राधिकरणको स्रोतबाट देशैभरीका विमानस्थलको लागि ९८ करोड ५० लाख र नेपाल सरकारको स्रोतबाट १ करोड ५० लाख मात्र विनियोजन भएको थियो । यसैगरी २०६१/०६२ मा प्राधिकरण स्रोतबाट चन्द्रगढी, धनगढी, काठमाडौं र भैरहवा विमानस्थलका लागि भनेर ५० करोड वजेट विनियोजन भएको थियो । सो बजेटमा धनगढी विमानस्थलको स्तरोन्नती लागि बजेट विनियोजन भनिएता पनि आयोजनामा कुनै रकम खर्च नगरी सो बजेटलाई अन्यत्र विमानस्थलमा खर्च गरिएको उनको दाबी छ ।

    अख्तियारमा परेको उजुरीमा आले मन्त्री भएका बेला निजी स्वार्थमा सरकारी बजेट दुरुपयोग गरेको उल्लेख छ । मन्त्री हुँदा आलेले नागरिक उड्डयन प्राधिकरणको खाताबाट एक अर्ब रुपैयाँ तत्कालीन मेगा बैंक (नेपाल इन्भेस्टमेन्ट मेगा बैंक) मा जम्मा गराएको र सोही रकम धितोमा राखेर पुनः एक अर्ब रुपैयाँ ऋण लिएको तथा सो रकमबाट उनले धनगढी विमानस्थल आसपासको क्षेत्रमा ७५ करोड बराबरको ३० बिघा जग्गा खरिद गरेको उजुरीमा उल्लेख छ । विमानस्थल वरपर प्रतिकट्ठा साढे १२ लाखका दरले जग्गा किनेको पनि उजुरीमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images