दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योललाई छोटो समयको लागि मार्शल ल लगाएकोमा महाभियोग लगाउने राष्ट्रिय सभाको प्रस्तावलाई समर्थन गरेको छ ।
अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाउँदै यो आठ न्यायाधीशहरूको सर्वसम्मत निर्णय भएको बताए । कानुनअनुसार फैसला पढेपछि तुरुन्तै लागू भयो र ६० दिन भित्र राष्ट्रपति चुनाव हुनु आवश्यक रहेको बताइएको छ । रूढिवादी नेताले आधिकारिक रूपमा सबै राष्ट्रपतिको शक्ति गुमाएका छन् ।
२०१७ मा पूर्व रूढिवादी राष्ट्रपति पार्क ग्युन–हेलाई महाभियोगमार्फत पदच्युत गरेपछि जबरजस्ती सत्ताबाट हटाइएका देशका दोस्रो बहालवाला राष्ट्रपति बने । देशको संवैधानिक इतिहासमा राष्ट्रिय सभाद्वारा महाभियोग लगाइने युन तेस्रो राष्ट्रपति बनेका छन् । २००४ मा राष्ट्रिय सभाले महाभियोग लगाएपछि स्वर्गीय उदारवादी राष्ट्रपति रोह मु–ह्युनलाई राष्ट्रपति पदमा पुनर्स्थापित गरिएको थियो ।
युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपत्कालीन मार्शल ल घोषणा गरेका थिए । तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टापछि यसलाई खारेज गरेको थियो । गत वर्ष डिसेम्बर १४ मा युनको महाभियोग प्रस्ताव पारित भएदेखि फेब्रुअरी २५ सम्म संवैधानिक अदालतमा कुल ११ सुनुवाइहरू भएका थिए । संवैधानिक अदालतको अन्तिम फैसला आउन १११ दिन लाग्यो ।


विश्व खबर 


















