काठमाडौं । बिक्री घटेर घाटामा गएपछि विनोद चौधरी नेतृत्वको चौधरी समूहले काठमाडौं उपत्यकामा रहेको वाईवाई चाउचाउको कारखाना बन्द गर्न बाध्य भएको छ ।
सो समूहअन्तर्गतको सीजी फुड्स प्रालिले भैंसेपाटीस्थित वाईवाई चाउचाउ उत्पादन गर्ने पूरानो कारखाना बन्द गर्न बाध्य भएको हो । यद्यपि समूहले सो कारखानालाई नवलपरासीस्थित आफ्नो औद्योगिक क्षेत्रमा स्थानान्तरण गरेको जिकिर गरेको छ ।
गुणस्तरमा समस्या देखिएसँगै काठमाडौं महानगरपालिकाले गत बर्ष जरिवाना गरेपछि वाईवाईको बिक्रीमा भारी गिरावट आएको थियो । त्यसपछि बिक्रीमा खासै सुधार आउन नसकेपछि ठूलो उपभोक्ताको बसोबास रहेको काठमाडौं उपत्यकाबाट आफ्नो कारखाना स्थानान्तरण गर्न चौधरी बाध्य भएको हो ।
सन् १९८४ मा पहिलो पटक चौधरी समूहले भैंसेपाटीमा वाईवाईको कारखाना स्थापना गरी उत्पादन थालेको थियो । फोब्समा सूचीकृत चौधरी समूहका अध्यक्ष विनोद चौधरीले अन्तर्राष्ट्रियस्तरमा देखाउने पहलो ब्राण्डको रुपमा रहेको वाईवाई चाउचाउको विभिन्न देशमा समेत कारखाना खुलिसकेका छन् । तर नेपालकै आन्तरिक बजारमा वाईवाईको ‘ब्राण्ड इमेज’ खस्किँदै जाँदा उनलाई ठूलो समस्या सिर्जना भएको छ ।
चौधरी समूहका प्रवक्ता मधुसुदन पौड्यालले भने बिक्री घटेर कारखाना बन्द गर्नुपरेको भन्ने कुरामा सत्यता नरहेको बताए । उनले भने, ‘विज्ञप्ति जे लेखेको छ, त्यही नै हो । अरु कारण होइन् । घाटा नाफाको कुरै छैन् । घाटा भएको भए ४० बर्ष उद्योग कसरी चल्थ्यो ?’ पौड्यालले कारखाना बन्दको विषयमा लामो कुरा गर्न चाहेनन् । उनकी एक सहकर्मीले भने वाईवाईको भैंसेपाटी कारखाना बन्दको स्पष्ट कारण खुलाउन चाहेनन् ।
तर, ४० लाखभन्दा बढि मानसको बसोबार रहेको काठमाडौं उपत्यका र यस वरसर राम्रो बजार हुँदाहुँदै वाईवाईको कारखाना बन्द गर्नुले सहजै केही कैफियत रहेको अनुमान लगाउन सकिन्छ । राजधानी काठमाडौंमा वाईवाई चाउचाउ बिक्री गर्दै आएका एक वितरकले पछिल्लो समय वाइवाइको बिक्री पहिला जस्तो नभएकोले कारखाना बन्द गरिएको हुनसक्ने बताए । उनले भने, ‘पहिला जस्तो वाईवाईको बिक्री नै थिएन् । चाउचाउले स्वास्थ्यलाई त्यति फाइदा गर्दैन भनेर पनि होला, अरु ब्राण्डहरु पनि आए । त्यो भएर त्यति जान्थेन ।’
चौधरी समूहले भने पछिल्लो समय भैंसेपाटी आवासीय क्षेत्रको रुपमा विकास हुँदै जाँदा यसको प्रत्यक्ष प्रभाव वाइवाइमा परेको तर्क गरेको छ । जबको यो तर्कमा खासै आधार देखिन्न । स्थानीयले गुनासो गरेको कुराहरु सार्वजनिक सञ्चार माध्यममा आउने गरेका छैनन् । चौधरी समूहले भैंसेपार्टीका स्थानीयलाई लगाएको आरोपबारे प्रक्रिया आउन बाँकी छ ।
यस्तो छ चौधरी समूहको विज्ञप्तिः
वाइवाइको पहिलो ऐतिहासिक फ्याक्ट्रीको सीजीआईपीमा स्थानान्तरण
नेपालको सबैभन्दा लोकप्रिय तयारी चाउचाउ ब्रान्ड वाइवाइको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ। ललितपुरको भैसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको यो ऐतिहासिक फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रीयल पार्क (सीजीआईपी)मा सारिएको छ । वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार स्थानान्तरणको सम्पूर्ण प्रक्रिया श्रमिकको ससम्मान व्यवस्थापन र अन्य सरोकारवालाबीच आपसी समझदारी र लिखित सहमतिमा सम्पन्न गरिएको हो ।
सन् १९८४ मा स्थापना भएको भैसेपाटीको वाइवाइ फ्याक्ट्री नेपालको तयारी चाउचाउ उत्पादन केन्द्रहरूमध्ये एक हो । स्थापना भएको समयमा भैसेपाटी खुला क्षेत्र थियो, जहाँ औद्योगिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिन्थ्यो। ूसमयक्रमसँगै यो क्षेत्र उच्च जनघनत्व भएको आवासीय क्षेत्रमा परिणत भयो, जसले औद्योगिक उत्पादनलाई निरन्तरता दिन कठिन बनायो र हामी यस ऐतिहासिक फ्याक्ट्रीलाई स्थानान्तरण गर्ने निर्णयमा पुग्यौं’, पुडासैनीले बताए।
साथै, केही समयदेखि स्थानीय बासिन्दा तथा सामाजिक क्षेत्रबाट वातावरणीय प्रदूषण, ध्वनि प्रदूषण, तथा औद्योगिक गतिविधिहरूको प्रभाव सम्बन्धी चिन्ताहरू पनि प्रकट भएका थिए। यी सरोकारहरूलाई गम्भीर रूपमा लिँदै र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिबद्धताका साथ वाइवाइ व्यवस्थापनले स्थानान्तरणको निर्णय लिएको हो।
फ्याक्ट्री स्थानान्तरणका क्रममा कुनै पनि श्रमिकलाई असहज स्थिति नहोस् भन्ने उद्देश्यले कम्पनीले विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरेको थियो । साथै, इच्छुक कर्मचारीहरूका लागि वाइवाइका काठमाडौंबाहिर रहेका अन्य प्लान्ट तथा अफिसहरूमा स्थानान्तरणको अवसर खुला गरिएको छ। व्यवस्थापनका अनुसार, यस प्रक्रियाले कम्पनीभित्रको कार्य वातावरणलाई अझ सुदृढ बनाउनेछ। ूसम्पूर्ण कर्मचारीहरुको उचित व्यवस्थापन पश्चात लिखित सहमतिमा नै यस फ्याक्ट्रीलाई स्थानान्तरण गरिएको हो,ू पुडासैनीले बताए ।
नवलपरासीमा स्थानान्तरण भएको नयाँ फ्याक्ट्री अत्याधुनिक प्रविधियुक्त उत्पादन प्रणालीमा अपग्रेड गरि सञ्चालनमा ल्याइएको छ। चौधरी ग्रुपले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक उत्पादन सुनिश्चित गर्न प्रविधिमा थप लगानी गरिरहेको छ ।
यो स्थानान्तरणले वाइवाइ ब्रान्डलाई अझ विस्तार गर्न, उत्पादन क्षमतामा वृद्धि गर्न, तथा गुणस्तरमा सुधार ल्याउन टेवा पुग्ने कम्पनीको विश्वास छ। नेपालकै सबैभन्दा सफल एफएमसीजी ब्रान्डमध्ये एक वाइवाइले आफ्नो उत्पादनलाई अझ सुदृढ गर्दै विश्व बजारमा अझ मजबूतीका साथ प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ ।


विश्व खबर 

















