काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी अन्तरराष्ट्रिय सहयोग नियोग (युएसएआईडी)का कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत आधा अर्बका कार्यक्रम रोकिएको छ।
युएसएआईडीको सहयोमा सञ्चालित ५२ करोड २४ लाख ४० हजार रुपैयाँका १६८ वटा कार्यक्रम स्थगित हुन पुगेको हो।युएसएआईडीको अनुदान रोकिँदा सबैभन्दा बढी परिवार कल्याण कार्यक्रमलाई असर गरेको छ।
सो अन्तर्गतका ३५ कार्यक्रमको १४ करोड ८० लाख रुपैयाँ रोकिएको छ। दोस्रोमा स्वास्थ्य व्यवस्थापनका कार्यक्रमलाई असर परेको छ।
स्वास्थ्य व्यवस्थापनअन्तर्गत ४४ वटा कार्यक्रमको १३ करोड ६५ लाख रुपैयाँ रोकिएको छ। त्यसैगरी, महामारी नियन्त्रणका ४१ कार्यक्रमको ६ करोड ९० लाख रुपैयाँ, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको ३ करोड १७ लाख रुपैयाँ रोकिएको छ।
थापाथलीस्थित परोपकार स्त्री रोग अस्पतालमा स्थापना गरिएको मिल्क बैंक स्थापना तथा सञ्चालनका लागि १ करोड ५१ लाख, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको ३ करोड ५० लाख, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको २३ वटा कार्यक्रमको ४ करोड ६ लाख रोकिएको छ।
यस्तै उपचारात्मक सेवा कार्यक्रमको ४९ लाख रुपैयाँ र नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमको ४ करोड ४६ लाख रुपैयाँ रोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
९ वटा विषयगत कार्यक्रमभित्र यी कार्यक्रम सञ्चालित रहेका थिए अब यो सबै कार्यक्रमहरु स्थगित भएको स्वास्थ्य मन्त्रालयका योजना महाशाखाका एक कर्मचारीले बताए।
‘युएसएआईडीको आर्थिक सहयोगमा सञ्चालन भएका यी कार्यक्रमहरु अब हाललाई स्थगित भएको छ, अब अन्य सहयोगी दातृ निकायले यी कार्यक्रमलाई हामी पनि सहयोग गर्छौँ भनेर आए भने मात्रै पुन सञ्चालन होला नत्र यी कार्यक्रम रोकिन्छ’, योजना महाशाखाका ती कर्मचारीले भने।
खासगरी नेपालमा प्रजनन् स्वास्थ्यसित सम्बन्धित परिवार नियोजन एवं सुरक्षित गर्भपतन सेवा, प्रजनन स्वास्थ्य सुरक्षित मातृत्व र बाल स्वास्थ्य, एचआइभी/एड्सको रोकथाम र उपचार कार्यक्रम युएसआईडीको आर्थिक सहयोगमा नेपालमा सञ्चालन भइरहेका थिए।
स्वास्थ्य सेवामा युएसएआईडी बाहेक अन्य धेरै आर्थिक सहयोग गर्ने अन्य दातृ निकाए (आईएनजीओ)हरूले पनि काम गरी रहेका छन्। अन्य दातृ निकायमार्फत युएसएआईडीको भन्दा धेरै अनुदान रकमबाट स्वास्थ्यका कार्यक्रम सञ्चालन भइरहेका छन्।
जसमा एफएचआई, निक साइमन, आइपासजस्ता संस्थाको ठूलो अनुदान रकममार्फत काम हुँदै आएको छ।
बिहिवार मात्रै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा बैठकमा पेश गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा पनि युएसएआईडी मुख्य आर्थिक सहयोगमा सञ्चालन भइरहेका मातृशिशु/बाल स्वास्थ्य तथा प्रजनन् स्वास्थ्यलगायतका कार्यक्रमहरूमा चालु आवको आधा समयमा पनि उल्लेखनीय प्रगति भएको देखाएका छन्।
तर अब यी कार्यक्रमहरूको बजेट पनि बीचमै रोकिने अवस्थामा पुगेको हो।


विश्व खबर 



















