images
images
  • पाथीभरा केबलकार आन्दोलन : विरोध प्रदर्शनमा घाइते तीन जनाको अवस्था गम्भीर, प्रहरीतर्फ पनि क्षति

    काठमाडौं – ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा निर्माण हुन लागेको केबलकारको विरोधमा आन्दोलन हुँदा घाइते ३ जनाको अवस्था गम्भीर भएको छ ।

    फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध विरोध प्रदर्शनका क्रममा शनिवार भएको झडपमा ४ जना प्रदर्शनकारी र १२ जना प्रहरी घाइते भएका थिए । ती मध्ये ३ जना प्रदर्शनकारीको अवस्था चिन्ताजनक भएको हो ।

    प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका थिए भने झडपमा परेर प्रहरी र सशस्त्र प्रहरीतर्फ पनि केही घाइते भएका थिए ।

    केबलकार निर्माणको विरोधमा रहेको ‘नो केबलकार समूह’ले आज आइतबारबाट आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनलाई रोक्न भन्दै शनिबार नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार झडपमा चार जना आन्दोलनकारी घाइते भएका छन् । प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका हुन् । यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो । उनीहरुको अवस्था गम्भीर छ । तीन जना घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगरमा पठाइएको डिएसपी रावलले बताए । घाइतेमध्ये मंगल लावतीको अवस्था मात्रै सामान्य छ ।

    डिएसपी रावलका अनुसार नेपाल प्रहरी तर्फ १२ जना घाइते भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आन्दोलनरत पक्षले बलुडाडाबाट गुलेली र ढुंगा प्रहार गरेपछि सुरक्षाकर्मीले गोली चलाएको दाबी गरे ।

    शनिबार दिउँसो पनि प्रहरी र नो केबलकार पक्षबीच झडप भएको थियो । झडपमा प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यो झडपमा पनि केही घाइते भएका थिए ।

    ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो । पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् ।

    शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै उनीहरूले आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images