images
images
  • गोरखामा रिसोर्ट संचालन गर्दै वरिष्ठ संगीतकार आलोकश्री

    गोरखा । गोरखा घरभई संगीतको क्षेत्रमा निकै चर्चित व्यक्तित्व आलोकश्रीले गोरखामा रिसोर्ट व्यवसाय संचालन गरेका छन् । उनले आफ्नै जन्मथलो पालुङ्टार नगरपालिकाको ठाँटीपोखरीमा ‘मिडल हिल एग्रो फार्म पालुङटार रिसोर्ट’ संचालनमा ल्याएका हुन् । ३० करोड लगानी गरेर भर्खर मात्र निर्माण सम्पन्न भएको रिसोर्ट बिगत एकसातादेखि संचालनमा समेत आइसकेको उनले बताएका छन् ।

    ‘अहिले सफ्ट ओपनिङमात्र गरेर संचालनमा ल्याएका छौँ, औपचारिक उद्घाटन भने यही माघ १ गते हुन्छ’, उनले भने । ६२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्ट ‘फार्म टु टेवल’ अर्थात्, आफ्नै बारीबाट किचनमा भन्ने अवधारणका साथ संचालनमा आएको उनले जानकारी दिए ।

    ‘रिसोर्टमा प्रयोग हुने सबै खाद्य सामाग्री हामी आफैँ उत्पादन गर्छौँ । नुन र तेलबाहेक सबै आफ्नै उत्पादन प्रयोग गर्ने लक्ष्य हाम्रो छ’, उनले भने, ‘ताजा तरकारी उत्पादन गर्न २० रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी लगाएका छौँ । बिस्तारै बाख्रा कुखुरा पाल्ने र फलफुलहरु पनि आफै उत्पादन गर्ने लक्ष्य छ ।’ रिसोर्टले स्थानीय किसानहरुसँग समन्वय गरी पाहुनाहरुलाई लोकल उत्पादनको स्वाद चखाउने उनले बताएका छन् ।

    रिसोर्ट गोरखा, लम्जुङ र तनहुँको सीमानामा पर्ने भएकाले पनि बढि भन्दा बढि पर्यटक आकर्षक गर्न सकिने उनको भनाइ छ । ‘पालुङ्टार आफैँमा सम्भावना बोकेको ठाउँ हो, मैले पनि आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भनेर यो रिसोर्ट संचालनमा ल्याएको हो’, उनले भने । २०७५ सालदेखि निर्माण सुरु गरेको रिसोर्ट गोरखा जिल्लाकै ठूलो रिसोर्ट रहेको उनको दाबी छ ।

    उनी भन्छन्, ‘मैले यहाँ २०७० सालदेखि नै कृषि फार्म संचालन गरेको हुँ । फार्म मौसमी तथा बेमौसमी तरकारी सहित फलफुलहरु पनि उत्पादन गर्थे । रिसोर्टको अवधारण भने पछि मात्र आएको हो ।’ कृषि फार्मबाट मात्रै बार्षिक एक करोडको तरकारी तथा फलफुल बेच्ने गरेको उनले जानकारी दिए । २०७५ सालमा थप जग्गा खरिद गरेर रिसोर्ट निर्माण गरेको उनको भनाइ छ ।

    आफु व्यवसाय क्षेत्रमा लागेपनि सांगीतिक यात्रालाई भने निरन्तरता दिने उनले बताएका छन् । ‘अहिले रिसोर्ट र अर्गानिक खेतीमा लागेको छु । संगीतमा लाग्न पाएको छैन’, उनले भने, ‘यता अलिक सहज भएपछि फेरि संगीतलाई समय दिन्छु ।’

    आफ्नो रिसोर्ट राम्ररी चल्छ भन्नेमा उनी विश्वस्त छन् । पालुङटार मध्यपहाडी लोकमार्गले छोएको व्यापारिक केन्द्र पनि हो । अन्नपूर्ण पदयात्राका यात्रुहरू पनि आफ्नो रिसोर्टको ग्राहक बनेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images