काठमाडौं – काठमाडौंमा घरजग्गा कारोबार बढेको छ । फिल्डमा मान्छेको चहलपहल नभए पनि घरजग्गा कारोबार बढ्ने आशामा व्यवसायीहरुले नै कारोबार बढाएका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार काठमाडौंका अधिकांश मालपोत कार्यालयबाट घरजग्गा कारोबार बढेको देखिएको छ ।
तथ्यांकअनुसार मंसिरमा काठमाडौंमा करिब २ हजारको संख्यामा घरजग्गा किनबेच भएका छन् । जुन सामान्य समयको भन्दा करिब ५० प्रतिशत र गत कात्तिकको तुलनामा करिब ३० प्रतिशतले बढी हो । यद्यपि यो संख्या घरजग्गामा बुल आउँदाको तुलनामा भने ५० प्रतिशत नै कम हो ।
कात्तिकमा काठमाडौंमा करिब १५ सयको संख्यामा घरजग्गा किनबेच भएका थिए ।
गत वर्ष मंसिरमा भएको कारोबारको तुलनामा पनि यो वर्ष मंसिरमा भएको कारोबार करिब १८ प्रतिशतले बढी हो । गत वर्ष मंसिरमा काठमाडौंमा १६ सय संख्यामा घरजग्गा कारोबार भएका थिए ।
विभागको तथ्यांक अनुसार घरजग्गा किनबेच बढेसँगै राजस्व पनि वृद्धि भएको छ । मंसिरमा काठमाडौंमा भएको घरजग्गा कारोबारबाट सरकारलाई ९१ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ । गत वर्ष मंसिरमा भने सोही अवधिमा भएको कारोबारबाट ६५ करोड रूपैयाँ मात्रै राजस्व प्राप्त भएको थियोे । बुलमा भने काठमाडौंका मालपोतबाट २ अर्बसम्म राजस्व प्राप्त हुनेगरेको थिय ।
घरजग्गा व्यवसायी भन्छन्, ‘हिसाब मिलान’ मात्रै भएको हो
सरकारी तथ्यांकले कारोबार बढेको देखाए पनि व्यवहारिक रूपमा भने घरजग्गा कारोबार नबढेको जग्गा तथा आवास विकास संघ, काठमाडौंका अध्यक्ष विदुर धमलाको भनाइ छ ।
‘यो हिसाब मिलान मात्र गरेका हुन् । यसलाई कारोबार बढेको भन्न मिल्दैन । कागजमा कारोबार भएको मात्रै हो,’ उनले भने, ‘वास्तविक कारोबार बढ्न त फिल्डमा पनि चहलपहल बढ्नुपर्छ’ ।
राष्ट्र बैंकले नीतिगत रूपमा सहजीकरण नगरेसम्म घरजग्गा कारोबार नबढ्ने पनि उनले ठोकुवा गरे ।
उनका अनुसार राष्ट्र बैंकले कर्जा आम्दानी अनुपात र लोन टु भ्यालु रेसियोको अनुपात बढाएमा मात्रै आगामी दिनमा घरजग्गा कारोबार फस्टाउने छ ।
अहिलेको कारोबार वृद्धि देखिनुमा बैंक तथा वित्तीय संस्थाले खराब कर्जा असुल गर्न लिलाम सकार्नु पनि एउटा प्रमुख कारण रहेकोे एक व्यवसायीले बताए ।
काठमाडौंमा कहाँ, कति भयो किनबेच?
काठमाडौंमा हुने कारोबारमध्ये संख्याको आधारमा सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट हुन्छ । राजस्वको आधारमा भने डिल्लीबजार मालपोत सबैभन्दा अघि आउँछ । यहाँबाट आउने राजस्व उपत्यकाभरका ८ मालपोत कार्यालयकै सबैभन्दा बढी हुन्छ ।
कलंकी कार्यालयबाट यो आर्थिक वर्षको मंसिरमा ५६२ संख्यामा घरजग्गा कारोबार भएको छ । व्यवसायी मिनबहादुर गुरुङले एमालेलाई दिएको जग्गा दानको कारोबार पनि कलंकी मालपोत बाटै भएको छ ।
दोस्रो ठूलो कारोबार गर्नेमा चाबहिल मालपोत कार्यालयबाट ४२४, साँखु मालपोत कार्यालयबाट ३४२, मनमैजु मालपोत कार्यालयबाट २३८, टोखा मालपोत कार्यालयबाट १४८ र डिल्लीबजार मालपोत कार्यालयबाट १९५ संख्यामा घरजग्गा किनबेच भएका छन् ।
घरजग्गा क्षेत्रमा बुल आउँदा देशभर ५० देखि ६० हजार संख्यामा घरजग्गा किनबेच हुने गरेकोमा उपत्यकामा ८ देखि १० हजार र काठमाडौंमा मात्रै ५ हजारसम्म घरजग्गा किनबेच हुने गरेका थिए ।





















